हेटौंडाः बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले हेटौंडा–७ कमाने हरियाली टोलस्थित आशा फाउन्डेसनद्वारा सञ्चालित आशा विशेष पाठशाला तथा पुनस्र्थापना केन्द्रको अवलोकन गर्नुभएको छ ।
मन्त्री फुयाँलले विद्यालयले शारीरिक तथा बौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई के कस्ता माध्यमद्वारा शिक्षा प्रदान भइरहेकोे छ, विद्यालय शैक्षिक गतिविधिलगायत आगामी दिनमा थप प्रभावकारीरुपमा अघि बढाउनका लागि के कस्ता कुराहरुको आवश्यकता पर्छ भन्ने विषयमा अवलोकन गर्नुभएको हो । सो विषयमा आशा विशेष पाठशाला फाउन्डेसन तथा विद्यालयका संस्थापक संरक्षक आइना वार्का न्यौपाने, फाउन्डेसन अध्यक्ष कैलाश न्यौपाने तथा फाउन्डेसन कन्ट्री डाइरेक्टर तथा विद्यालयका प्रधानध्यापक रुपा काकीँग छलफलसमेत गर्नुभएको छ ।
मन्त्री फुयाँलले आगामी दिनमा आशा पाठशालालाई अझ प्रभावकारीरुपमा सञ्चालन गर्न आफूले पाउने मासिक सेवा सुविधाबापतको आधा रकम तथा अन्य थप सहयोग विद्यालयलाई उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । अवलोकनमा हेटौंडा–७ का वडा अध्यक्ष राजन थापाको पनि उपस्थिति रहेको थियो ।