जमुना थिङ, हेटौंडा १२, पदमपोखरीस्थित गोठदमारमा बङ्गुर पालन गर्दै आउनुभएका व्यक्ति हुन्, धनवीर लोप्चन ।

हेटौंडाः हेटौंडा १२, पदमपोखरीस्थित गोठदमारमा बङ्गुर पालन गर्दै आउनुभएका व्यक्ति हुन्, धनवीर लोप्चन । ४५ वर्षका लोप्चन वैदेशिक रोजगारको शिलशिलमा ड्राइभिङ पेसामा कतार पुग्नु भएको बताउनुहुन्छ । वैदेशिक रोजगारमा कतार जानुअघि कृषि र पशुपालन गरेर देशमै योगदान दिने लक्ष्य राख्नुभएका लोप्चनले आफूले सोचेजस्तो नभएपछि विदेश जानुभएको हो ।

वैदेशिक रोजगारबाट फर्केपछि पशुपालनमा लाग्नुभएका लोप्चनले बुङ्गुरका साथै कुखुरा पालन पनि गर्नुभएको थियो । अहिले कुखुरा पालनबाट मुनाफा कम भएपछि छोडेको लोप्चनले जानकारी दिनुभयो । ब्रोइलर कुखुरा पालन गर्नुभएका लोप्चनले कुखुरा मर्ने समस्या भएपछि व्यवसायमा घाटा हुँदा कुखुरा पालन छाडेको बताउनुभयो । कुखुरा पालन व्यवसायप्रति किसानलाई आकर्षित गर्न स्थानीय तहले विशेष चासो दिनुपर्ने र अनुदानलगायत थप सहयोग भएमात्र यस व्यवसाय अगाडि बढ्ने उहाँले बताउनुभयो ।

बङ्गुर र कुखुरा पालनलाई तुलना गर्दा बङ्गुर पालन गर्ने किसान भने निराश हुनु नपर्ने भन्दै लोप्चनले जहिले पनि मुनाफा कमाउन सकिने बताउनुभयो । ७ लाख रुपैयाँ लगानी गरेर बङ्गुर पालन सुरु गर्नुभएका लोप्चनले २ जनालाई रोजगारीसमेत दिनुभएको छ । अरु मानिसले पनि रोजगारी पाउने र आफू पनि आर्थिकरुपमा सन्तुष्ट हुँदा खुसी लागेको लोप्चनले बताउनुभयो ।

७ वटा बङ्गुरबाट व्यवसाय सुरु गर्नुभएका लोप्चनले अहिले बच्चा उत्पादनसमेत गरेर व्यावसायिक फार्मको रुपमा विकास गर्नुभएको छ । उहाँको फर्ममा अहिले २१ वटा बङ्गुर रहेका छन् । उहाँले बङ्गुर पालन गर्न चाहनेहरुका लागि आफ्नो फर्मबाट बङ्गुरको बच्चासमेत बिक्री गर्दै आउनुभएको छ ।

किसानलाई मर्का नपर्ने गरी बङ्गुरका आहारा सस्तो र सुलभरुपमा उपलब्ध हुने व्यवस्था गर्न सम्बन्धित निकायलाई लोप्चनले अनुरोध गर्नुभएको छ । फर्मलाई विस्तार गरेर थप रोजगारी दिने योजना बनाइरहनुभएका लोप्चनले बङ्गुर पालनका लागि एक लाख रुपैयाँ सरकारी अनुदानसमेत पाउनुभएको छ ।