प्रसाद वितरण गरिँदै भक्तजनहरुलाई ।

हेटौंडाः प्रसिद्ध स्थानीय शक्तिपीठ भूटनदेवी मन्दिरमा वार्षिक बिसासय पूजा (क्षमापूजा) सम्पन्न भएको छ । हेटौंडा–१० स्थित भूटनदेवी मन्दिरको मन्दिर व्यवस्थापन समितिले शनिबार क्षमापूजा तथा बलि पूजा गरेको हो ।

पूजाको समयमा एक सय ८ वटा परेवा, एउटा कुखुरा, १५ वटा बोका, एउटा हाँस, एउटा राँगो, एउटा सुँगुर, एउटा पाठो गरी एक सय २८ वटा पशुबलि दिइएको छ । समस्त धर्मप्रेमी भक्तजनको सुखशान्ति र समृद्धिका लागि प्रत्येक वर्ष चैत महिनामा विसासय (क्षमा) पूजा हुने गरेको भूटनदेवी मन्दिर व्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितिका अध्यक्ष राममान श्रेष्ठले जानकारी दिनुभयो । हिन्दू धर्मावलम्बीको आस्थाकी देवी भूटनदेवी मातासहित दवी र गणदेवताहरुलाई एकसय २८ वटा पशुको सप्तबलि दिइएको उहाँले बताउनुभयो ।

भूटनदेवी मन्दिरमा गरिने क्षमापूजाले मकवानपुरमा मात्र नभई विश्वलाई नै शान्ति दिने मन्दिरका पण्डित पुरुषोत्तम धितालले जानकारी दिनुभएको छ । वर्षौंदेखि चल्दै आएको क्षमापूजामा हिन्दू र बौद्ध धर्मावलम्बी दुबैले पूजा गर्ने गरेका छन् । मन्दिर व्यवस्थापन समितिले क्षमापूजाका लागि करिब ६ लाख रुपैयाँको खर्च अनुमान गरेको धितालले बताउनुभयो ।