हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १० र ११ को वडास्तरीय सहकारी अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रमको सहजीकरण गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाका आर्थिक शाखा प्रमुख राजेन्द्र राईले सहकारीको वर्तमान अवस्था र निष्क्रिय सहकारीको अवस्थाका बारे जानकारी दिनुभएको थियो ।
डिभिजन सहकारी कार्यालयमा दर्ता भएका सहकारीहरु संघीय संरचनामा गएपछि मकवानपुर जिल्लामा २ सय २६ वटा सहकारी कार्यरत रहेको राईले जानकारी दिनुभयो । सहकारी दर्ताको समयमा उल्लेख गरिएको विवरणमा फोन नम्बर र ठेगानासमेत उल्लेख नभएको र उल्लेख भएको फोन नम्बर र ठेगाना फरक परेको उहाँले बताउनुभयो ।
चैत २२ र २३ गते सहकारीहरुको अनुगमन गरिने जानकारी दिँदै हेटौंडा उपमहानगरपालिकाको आर्थिक शाखाका प्रमुख राईले अनुगमनको क्रममा विवरण उल्लेख नभए वा ऐनविपरीत सहकारीले काम गरेको पाइएमा कानुनबमोजिम कारवाही गरिने जानकारी दिनुभयो । हेटौंडा उपमहानगरभित्रका सहकारीहरु एकआपसमा एकीकरण हुन चाहेमा एकीकरण गरिने राईले बताउनुभयो ।
पहिलेको तुलनामा सहकारीको ऐन कानुनमा परिवर्तन भएको जानकारी दिँदै आर्थिक शाखा प्रमुख राईले ऐनबमोजिम सहकारीको विनियम संशोधन गर्नुपर्ने भए तत्काल संशोधन गर्न आग्रह गर्नुभएको छ ।
व्याजदर वृद्वि, कार्यक्षेत्रको विस्तार, कोष बाँडफाँडमा अन्यौलता, ३ महिना नपुगी ऋण उपलब्ध गराएको, साधारणसभाको विवरण तथा लेखापरीक्षण प्रतिवेदन नबुझाएको जस्ता समस्या आएकाले यसमा ध्यानाकर्षण हुन जरुरी रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष किताव सिंह लामा, वडा नम्बर ११ का वडा अध्यक्ष अध्यक्ष गोकर्ण पराजुलीलगायतको उपस्थिति रहेको थियो ।