हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ स्थित न्यूरेनी–चिसापानी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा उपभोक्ताहरु डँढेलो नियन्त्रणका लागि जुटेका छन् । वन समूहका पदाधिकारी तथा सदस्यहरुले सोमबार बिहानैदेखि अग्निरेखा बनाउन सुरु गरेका छन् ।
न्यूरेनी–चिसापानी सामुदायिक वन उपभोक्ता समूहले पश्चिमतर्फको सिमानामा अग्निरेखा निर्माण गरेको समूहका अध्यक्ष ज्ञानबहादुर क्षेत्रीले जानकारी दिनुभएको छ । दक्षिणतर्फ कान्तिलोकपथबाट उत्तरतर्फ मकवानपुरगढी गाउँपालिकाको रुद्रमार्गसम्म अग्निरेखा निर्माण गरेको अध्यक्ष क्षेत्रीले बताउनुभयो । न्यूरेनी–चिसापानी सामुदायिक वनको पश्चिमतर्फबाट डँढेलो प्रवेश गर्न सक्ने जोखिम रहेकोले त्यसतर्फ अग्निरेखा निर्माण गरिएको हो ।
न्यूरेनी–चिसापानी सामुदायिक वन क्षेत्र डँढेलोमुक्त रहेको र डँढेलोको जोखिम न्यूनीकरण गर्न अग्निरेखा निर्माण गरिएको अध्यक्ष क्षेत्रीले बताउनुभयो । ७१ दशमलव १८ हेक्टर क्षेत्रफल भएको न्यूरेनी–चिसापानी सामुदायिक वन उपभोक्ता समूहमा दुई सय ८७ परिवार उपभोक्ता छन् । न्यूरेनी–चिसापानी सामुदायिक वन र आसपासका क्षेत्र दुर्लभ सालकको वासस्थान समेत हो ।