शुक्रबार ललितपुरको महालक्ष्मी नगरपालिका र बाँके जिल्ला बुद्धिचाल संघका खेलाडी प्रतिस्पर्धा गर्दै ।

हेटौंडाः हेटौंडामा जारी अन्तर शहर राष्ट्रव्यापी टिम चेस प्रतियोगिताको उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ । पाँचौं चरणसम्म २ अंकको अग्रता लिएको आयोजक शहर हेटौंडा उपमहानगरपालिकाको टोली छैठौं चरणमा शुक्रबार ईलाम जिल्लाको गजुरमुखी चेस क्लबसँग बराबरीमा रोकिएसँगै उपाधिको छिनोफानो सातौं चरणको नतिजाले तय गर्नेछ ।

शनिबार हुने अन्तिम तथा सातौं चरणको खेलमा ११ म्याच प्वाईन्टका साथ अंकतालिकाको शीर्षस्थानमा रहेको हेटौंडाले ललितपुरको महालक्ष्मी नगरपालिकाको सामना गर्नेछ । उता चौथो चरणमा हेटौंडासँग हार व्यहोरेको दोलखाले शुक्रबार सम्पन्न पाँचौं तथा छैठौं चरणमा लगातार जीत हात पार्दै समग्रमा १० म्याच प्वाईन्टका साथ उपाधि होड कायमै राखेको छ ।

पाँचौं चरणमा ललितपुर स्पोर्टस् क्लबमाथि ३–१ को जित हात पारेको दोलखाले छैठौं चरणमा ललितपुर महानगरपालिकाको टोलीलाई २.५–१.५ ले हरायो । अन्तिम चरणमा दोलखाको भेट नाईट चेस क्लब काकरभिट्टा झापासँग हुनेछ । उपाधिका लागि अनिवार्य जीत निकाल्नु पर्ने दबावमा रहेको दोलखाका लागि पहिलो बोर्डमा हुने हेटौंडा र महालक्ष्मी बीचको खेलको नतिजा समेत महत्वपूर्ण रहनेछ ।

छैठौं चरणको समाप्तिमा गजुरमुखी, महालक्ष्मी र ललितपुर महानगरपालिका समान ८–८ म्याचप्वाईन्टका साथ अंकतालिकामा संयुक्त तेश्रो स्थानमा रहेका छन् । त्यसैगरी नाईट चेस क्लब, माउण्ट एभरेष्ट चेस एण्ड कल्चर क्लब गोकर्णेश्वर र ललितपुर स्पोर्टस् क्लबको समान ७–७ अंक रहेको छ ।