जिल्ला प्रशासन कार्यालय मकवानपुरले साधारणसभा आयोजना गर्न मउवासंघलाई लेखेको निर्देशनात्मक पत्र ।

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचनको कार्यक्रम पूर्वघोषित समयमै सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले संघलाई पत्राचार गरेको छ ।

पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्ने निर्णयविरुद्ध अध्यक्षका आकांक्षी राजकुमार न्यौपानेको समूहले स्थानीय प्रशासनमा निवदेन दिएका थिए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शुक्रबार मउवा संघलाई पत्र लेखेर साधारणसभा आयोजना गर्न भन्नुभएको छ ।

मउवा संघले यही चैत २१ गते वार्षिक साधारणसभा र २३ गते निर्वाचनका लागि तय गरेको कार्यक्रम गत मंगलबार स्थगित गर्ने निर्णय गरेको थियो । न्यौपाने समूहको निवेदनपछि स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर साधारणसभा तथा निर्वाचनको कार्यक्रम संघको विधान बमोजिम आयोजना गर्न शुक्रबार निर्देशन दिएको हो ।