विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रुपमा चयन गरेपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः हेटौंडा–१३ पदमपोखरीस्थित महेन्द्र माविको अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । वडा नम्बर १३ का अध्यक्ष मनोजकुमार वाईबाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मेयर महतले विद्यालयको विकासका लागि आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णु श्रेष्ठले शैक्षिक तथा आर्थिक प्रतिवेदन पेश गर्नुभयो । सो अवसरमा विद्यालयका विभिन्न शिक्षकहरुलाई सम्मान गरिएको छ । शिक्षकहरू गीता अधिकारी, निरन्जन सिग्देल, रामप्रसाद यादव, मातृका दुलाल, आशा थापा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्ण प्रसाद मैनाली र सदस्य सन्दीपा विँडारीलाई सम्मानित गरिएको हो ।

भेलाले शंकरबहादुर रोकाको अध्यक्षतामा सर्वसम्मत रुपमा विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । समितिमा वीरबहादुर गोले सानु, बुद्ध वाइबा, सपना लामा, रमा मोक्तान, मनकुमार स्याङ्तान चयन हुनु भएको छ ।