हेटौंडाः नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाले ज्येष्ठ पत्रकारलाई पेन्सन वितरणको कार्य सुरु गरेको छ । २० वर्ष पत्रकारिता गरेका र ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारलाई पेन्सन कोष सञ्चालन गरेर त्यसको व्याजबाट पेन्सन वितरणको काम सुरु गरेको हो । महासंघ मकवानपुर शाखाले सोमबार पेन्सन वितरण कार्यको शुभारम्भ गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका पूर्व अध्यक्ष नवराज शर्मालाई पेन्सन वापतको रकम वितरण गर्नुभयो । मेयर महतले यो पेन्सन कोषमा अरु पनि रकम थप गरिने बताउनुभयो । महासंघको संस्थागत कामका लागि आफूहरु तयार रहेको मेयर महतले बताउनुभयो । नगद रकम दिनका लागि केही कठिनाई भएपनि फेरी पनि कोष बृद्धि गर्नका लागि सहयोग गरिने उहाँले बताउनुभयो ।
करिब ४० वर्षसम्म पत्रकारिता गरेर निवृत्त जिवन बिताइरहनु भएका शर्मालाई चैत महिनाको ४ हजार रुपैयाँ पेन्सन वापत रकम प्रदान गरिएको हो । २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक ४ हजार रुपैयाँका दरले पेन्सन दिन सुरु गरिएको हो । पेन्सन कोषमा १० लाख रुपैयाँ यसअघि हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको र अबका दिनहरुमा पनि सहयोगलाई जारी राख्ने मेयर महतले बताउनुभयो ।
पत्रकार महासंघ मकवानपुर शाखाले बाणिज्य बैंकमा यसअघिनै खोलिएको खातामा दश लाख रुपैयाँ जम्मा गरिएको छ । त्यसबाट व्याज प्राप्त हुन थालेको छ । त्यही व्याजबाट पेन्सन वितरणको काम सुरु गरिएको हो । पत्रकार महासंघका ७७ वटै जिल्लाका शाखा, प्रदेश र केन्द्रमा पहिलोपटक महासंघ मकवानपुर शाखाले ज्येष्ठ पत्रकारलाई पेन्सन वितरणको काम सुरु गरेको अध्यक्ष हरि हुमागाईले बताउनुभयो । पेन्सन सम्बन्धी कार्यविधिलाई महासंघको बितेको मंसिर २६ गतेको साधारण सभाले पारित गरेको छ ।
महासंघ मकवानपुर शाखामा आवद्ध हुनुभएका सदस्यहरु मध्ये ज्येष्ठ सदस्यको वृत्ति विकास गर्नका लागि पेन्सन दिन सुरु गरिएको हो । लगातार कम्तिमा बीस वर्ष मुख्य पेशा पत्रकारिता गरेर सक्रिय पत्रकारिता छोडी बिश्राम लिइसकेपछि प्राप्त निवेदनका आधारमा पेन्सन रकम दिन सुरु गरिएको अध्यक्ष हुमागाईले बताउनुभयो ।