हेटौंडाः प्रेस संगठन नेपाल (तत्कालीन प्रेस सेन्टर) मकवानपुरले पत्रकार ध्रुव अधिकारीलाई नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार प्रेस सेन्टर मकवानपुर अध्यक्ष नानीमैया विष्टको अध्यक्षतामा बसेको बैठकले महासंघको आगामी नेतृत्वका लागि अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बैठकले उम्मेदवार छनौट तथा अन्य संगठनसँग सहकार्य गर्न संगठनका प्रदेश संयोजक सुनिल खड्का, भानुभक्त आचार्य, नानिमाया विष्ट, अञ्जली थापा, ध्रुव अधिकारीको कमिटी बनाउने निर्णय गरेको छ । बैठकले ईच्छापूर्ण कार्की, राजकुमार केसी, शुभलक्ष्मी बिक, सरला अधिकारी, भावना रिजाल, अशोक सुजन श्रेष्ठ, दिल रुम्बा, अर्जुन सञ्जेल र रुपा गुरुङ सम्मिलित निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ ।
बैठकले मकवानपुर जिल्लाका अग्रज पत्रकारहरुलाई सम्मान गर्ने निर्णय पनि गरेको छ । सेन्टरले स्थापनाकालदेखि प्रदान गर्दै आएको रुद्र–सेन स्मृति पत्रकारिता पुरस्कार पत्रकार सुनिल खड्का र नानीमैया विष्टलाई प्रदान गर्ने निर्णय गरेको छ । मकवानपुरमा रहेर पत्रकारितामा क्रियाशील युवा पुस्तालाई क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने निर्णय पनि बैठकले गरेको छ । पुरस्कृत हुने पत्रकारहरुमा सरला अधिकारी, शुभलक्ष्मी विक, गणेश दर्पण अधिकारी र शिव चौगालाईं रहेका छन् । सम्मान तथा पुरस्कार यही चैत १४ गते प्रदान गरिने जनाइएको छ ।