हेटौंडाः नेपाल खुला विश्वविद्यालयले सञ्चालन गरिरहेको विभिन्न शैक्षिक कार्यक्रमका बारेमा हेटौंडामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार विश्वविद्यालयका प्रतिनिधिले मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा क्याम्पसका प्राध्यापक र क्याम्पस तहका विद्यार्थीलाई अभिमुखीकरण गरेको हो ।
खुला विश्वविद्यालयले सञ्चालन गरेका कार्यक्रमका बारेमा जानकारी गराउनुहुँदै खुला विश्वविद्यालय डा. कर्ण रानाले अनलाइनमार्फत अध्ययनको अवसर रहने भएकाले व्यस्त एवम् कार्यरत व्यक्तिका लागि उच्च शिक्षा अध्ययनको अवसर रहने बताउनुभयो । स्नातक तहदेखि विद्यावारिधी उपाधिसम्मका कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्नुहुँदै डा. रानाले नियमितरुपमा भर्चुअल कक्षाका साथै आवश्यकताअनुसार बेलाबेलामा प्रत्यक्ष कक्षा समेत सञ्चालन गर्न सकिने बताउनुभयो ।
खुला विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थी मकवानपुर जिल्लामा उल्लेख्य संख्यामा रहेकाले अभिमुखीकरणको कार्यक्रम राखिएको डा. रानाको भनाइ छ । मकवानपुर जिल्लामा अभिमुखीकरण कार्यक्रममा खुला विश्वविद्यालयका डा. भीम भूषाल, मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्याय, सहायक क्याम्पस प्रमुखहरु, पब्लिक क्याम्पस प्राध्यापक संघ मकवानपुर बहुमुखी क्याम्पस इकाईका अध्यक्ष केशवप्रसाद तिमल्सिनाको पनि उपस्थिति रहेको थियो ।