हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको क्याम्पाचौरलाई व्यवस्थित बनाउने कामले तिब्रता पाएको छ । क्याम्पाचौरलाई रनिङ ट्रयाक र प्याराफिटसहित मिनी रंगशालाको रुपमा तयार पार्ने काम तिव्ररुपमा अगाडि बढेको हो ।

हाललाई ५० लाख रुपैयाँको लागतमा चौर निर्माणको काम भइरहेको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले बताउनुभयो । घिमिरेकै अगुवाईमा क्याम्पाचौर व्यवस्थित बनाउने कार्यको सुरुवात भएको हो । क्याम्पाचौरमा ४ सय मिटरको रनिङ ट्रयाक र प्याराफिटसहितको मिनी रंगशाला निर्माणका लागि आवश्यक कामहरु अगाडि बढेको घिमिरेले बताउनुभयो ।

क्याम्पाचौर व्यवस्थित बनाउन हेटौंडा उपमहानगरपालिकाले ११ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । चौरलाई व्यवस्थित गर्ने कार्यका लागि व्यक्तिगतरुपमा पनि सहयोग प्राप्त भइरहेको पिप्ले युवा क्लबका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । हालसम्म व्यक्तिगतरुपमा १ लाख रुपैयाँ बराबरको सहयोग प्राप्त भएको उहाँले बताउनुभयो । चौरलाई व्यवस्थित बनाउनेक्रममा हालसम्म १२ लाख रुपैयाँ खर्च भइसकेको घिमिरेले जानकारी दिनुभयो ।

चौरलाई व्यवस्थित खेलमैदानको रुपमा विकास गर्ने उद्देश्यले काम भइरहेको हुँदा यस कार्यमा जोसुकै व्यक्ति वा संस्था सहभागी हुनसक्ने अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । चौरलाई व्यवस्थित गर्ने कार्यको सुरुवातमात्र भएकाले यो अभियानमा सहभागी हुन र सहयोग गर्न उहाँले अनुरोध गर्नुभएको छ ।