हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा जारी स्थानीय तह सहिद स्मृती गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगितामा मंगलबार अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनले बागमती युवा क्लबलाई २–१ ले पराजित गरेको हो ।

बागमती क्लबले दोस्रो हाफसम्म १–० को दबदबा कायम राखेपनि खेल जित्न सकेन । दोस्रो हाफको अन्तिम समयको ४३ औं मिनेट र अतिरिक्त समयको एक मिनेटमा डुवल क्यामरुनले दुई गोल गरेको थियो । ३ मिनेट भित्रै अफ्रिकी क्लब दुई गोल गर्न सफल भयो ।

खेलको म्यान अफ दी म्याच अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनका जर्सि नम्बर १० का मोसा घोषित हुँदै नगद १० हजार प्राप्त गरे । उनलाई बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले म्यान अफ दी म्याचको पुरस्कार प्रदान गरेका हुन् ।

बुधबारबाट प्रतियोगिताको सेमिफाइनल खेलहरु सुरु हुनेछ । बुधबार पहिलो सेमिफाइनल खेल रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ र मच्छिन्द्र क्लब बिच हुनेछ । यस्तै बिहीबार नेपाल आर्मी र अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनबिच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

फाइनल खेल चैत्र ७ गते शनिबार हुनेछ । खेलको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताल नगद ५ लाख तथा सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछ ।