सांकेतिक तस्विर ।

हेटौंडाः बागमती प्रदेशमा तत्कालिन नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका १८१ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । सरकारले विप्लब समूहमाथि प्रतिबन्ध लगाएसँगै प्रदेशको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला बाहेकका दश जिल्लाबाट २ वर्षको अवधिमा १ सय ८१ जना पक्राउ परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

उनीहरुमध्ये १ सय ७३ जनामाथि प्रहरीले सङ्गठीत अपराध, चन्दा असुली लगायतमा मुद्धा चलाएको थियो । ८ जना भने मुद्धा नचली छुटेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक मिरा चौधरीले बताइन् ।

विप्लब समूहलाई राज्यले प्रतिबन्द लगाएसँगै बागमती प्रदेशको दश जिल्लाबाट चार सय ३६ जनाले पार्टी परित्याग गरेका थिए । पार्टी परित्याग गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ नगरेको हो ।
सरकार र विप्लब समूहबिच ३ बुँदे सहमति भएसँगै बागमती प्रदेशबाट २ जना विप्लब कार्यकर्ता कारागारबाट छुटेका छन् । हाल बागमती प्रदेशको सिन्धुली जिल्लाको कारागारमा एक जना विप्लब कार्यकर्ता छुट्न बाँकी छन् ।

यसअघि विप्लब समूहको अपराधिक गतिविधि बढेसँगै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले विप्लब समूहको नेता तथा कार्यकर्ताहरुको हिटलिस्ट नै तयार पारेको थियो ।