हेटौंडाः हेटौंडा–४ स्थित भुटनदेवी माविको व्यवस्थापन समिति अध्यक्षमा फूर्वा दोर्जे लामा चयन हुनुभएको छ । अभिभावक भेला भएको ठिक दुई महिनापछि शनिबार विद्यालय व्यवस्थापन समितिमा निर्वाचित सदस्यहरुमध्येबाट लामालाई अध्यक्ष चयन गरेको हो । राजनीतिक स्वार्थका कारण अध्यक्ष चयनमा ढिलाई भइरहेका बेला हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले निर्देशन दिएपछि व्यवस्थापन समितिको अध्यक्ष चयन भएको हो ।
गत पुस २९ गते भएको अभिभावक भेलाले दुईजना महिला अभिभावक जानकी शर्मा र लक्ष्मी अधिकारी लामिछानेलाई मात्रै चयन गर्न सकेको थियो । माघ २१ गते फूर्वा दोर्जे लामा र कृष्ण कँडेललाई चयन गर्नुका साथै शालिकराम पुडासैनी र कमला दाहाल लम्साललाई सदस्य मनोनित गरेको थियो । निर्वाचित र मनोनित सदस्य गरेर व्यवस्थापन समितिले पूर्णता पाए पनि राजनीतिक खिचातानीले नै अध्यक्ष चयन गर्न सकेको थिएन । विद्यालय व्यवस्थापन समितिमा प्रधानाध्यापक सदस्य सचिव रहने व्यवस्था छ भने शिक्षक प्रतिनिधिको रुपमा खडानन्द चौलागाई र एकजना वडाबाट जनप्रतिनिधिले प्रतिनिधित्व गर्ने व्यवस्था छ ।
शनिबार बसेको बैठकले फूर्वा दोर्जे लामालाई अध्यक्षमा चयन गरेको विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहालले जानकारी दिनुभएको छ । फूर्वा दोर्जे लामा कक्षा ११ मा सिभिल इन्जिनियर विषय अध्ययनरत छात्रा अमिषा मोक्तानका अभिभावक हुनुहुन्छ । हेटौंडा उपमहानगरकै पहिलो माध्यमिक विद्यालयको रुपमा रहेको भुटनदेवी माविमा कक्षा १२ सम्म पठनपाठन हुन्छ ।
भुटनदेवी माविमा सिभिल इन्जिनियरिङतर्फ कक्षा ११ र १२ का साथै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सिभिल इन्जिनियरिङकै तीन वर्षे डिप्लोमा लेभलको कक्षा सञ्चालन भइरहेको छ । भुटनदेवी माविमा एक हजार दुई सय विद्यार्थी अध्ययनरत छन् ।











