हेटौंडाः खाना पकाउने ग्यास व्यवसायीले कमिसन बढाउन माग गरेका छन् । ग्यास विक्रेता महासंघको प्रथम केन्द्रीय समितिको बैठकले व्यवसायीलाई ५ प्रतिशत कमिसनको व्यवस्था गर्न माग गरेका हुन् । ग्यासको मूल्य बढेर लगानी बढे पनि कमिसन नबढेको भन्दै व्यवसायीले सरकारसँग कमिसन बढाउन माग गरेका छन् ।
बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार केन्द्रीय समितिको बैठक बसेर जिल्ला शाखा विस्तार गर्ने र नेपाल उद्योग वाणिज्य महासंघ र जिल्लास्थित उद्योग वाणिज्य संघमा पनि ग्यास विक्रेता महासंघले आवद्धता जनाउने निर्णय गरेको महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले जानकारी दिनुभएको छ ।
प्रथम बैठककै अवसरमा फागुन १५ गते सम्पन्न महासंघको अधिवेशनमा निर्वाचित समितिका पदाधिकारीको पदभार ग्रहण गराइएको छ । नेपालमा अहिले खाना पकाउने ग्यासको उपभोक्ता बढ्दै गएको छ । अहिले मासिक २४ लाख ६० हजार सिलिण्डर खाना पकाउने ग्यास खपत भइरहेको महासंघको अनुमान छ ।