हेटौंडाः मातृभूमि साहित्य समाजले साहित्यकार नवराज लम्साललाई सम्मान गरेको छ । मातृभूमिले लम्साललाई ५१ हजार राशीसहित महालक्ष्मी साहित्य पुरस्कार २०७६ बाट सम्मान गरेको हो ।
खण्डकाव्य, महाकाव्य र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा कवि तथा गजलकार उत्पादनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै लम्साललाई शनिबार हेटौंडामा एक समारोहका बीच सम्मान गरिएको हो । महालक्ष्मी विकास बैंकले पुरस्कार राशी प्रायोजन गरेको हो ।
यसैगरी मातृभूमि राष्ट्रिय स्रष्टा सम्मान २०७६ बाट कवि देवराज खरेल तथा मातृभूमि मकवानपुर श्री सम्मान २०७७ बाट केदारप्रसाद न्यौपानेलाई सम्मान गरिएको छ । दिनेश शर्माको एउटा मृत्यु यो पनि कविता सङ्ग्रह समेत विमोचन भएको छ । मातृभूमी साहित्य समाजका अध्यक्ष माधव पोखरेलको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा उच्च अदालत पाटन हेटौंडा इजलासका प्रमुख न्यायाधीश शेषराज शिवकोटीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा उपस्थित साहित्यकारले गजल, मृक्तक, गीत तथा कविता प्रस्तुत गरेका थिए ।