जीवनको पोकाहरु फुकाउँदा
थुप्रै रहस्यको पोका उदाउँछ
फेरी खोल्छ,
अर्को उदाउँछ
अस्ताउछ, अर्काे उदाउँछ
पृथ्वीको चक्र जस्तै
घडीको सुई जस्तै
समयको अन्तरालमा
ट्वाङ ट्वाङ ध्वनी
कुनै टिक टिक
अझै धेरै सुनसान
आखिर बग्न त बगिरहन्छ
आखिरी पल सम्मै
हिमालको फेदबाट बगेको पानी
जरुवाको पानीसंग मिसिन्छ
जरुवाको पानी हिमालीसंग
कतै नालीको हिलो त कतै खहरे
आफै खिएर बग्दा
तापक्रम संगै बाफमा विलिन
खै त यात्रा ?
खै त गन्तब्य ??
कहिले छाँगा
त कहिले बगरलाई खियाउदै
मिसिन्छ समुन्द्रमा
ओहो ! कति नुनिलो बिसर्जन
खै त मृगतृष्णको फल ?
बेस्वाद गन्तब्य
यदि हो त रहस्य ?
नाप तौलको रहस्य भित्र
प्रकृतिको स्थिर तराजुलाई
आफैलाई गह्रौ देखाउन
आफै माथि अनेक बस्तुहरु थुपार्दै
विजयको विगुल फुक्छ
सायद जित सम्झेर
अर्को आउँछ खुसिले हात हल्लाउछ
अर्को आउँछ कोसिश गर्छ
उचाल्छ फेरी पछार्छ
तछाँड मछाँडको प्रतियोगिता
तल र माथीको
अग्लो र होचोको
ठुलो र सानोको
टाउको र शरीरको
सायद पहिचानको
अझ भँनु क्षमताको
एउटा आउछ टाउको देखाँउछ
अर्को हावा भर्छ र ठुलो देखाउछ
फेरी अर्काे,
ठुलो बस्तुलाई नै टाउको बनाउछ
ओहो ! पृथ्वी नै टाउको !
जब, तराजुबाट उछिटिन्छ
जमिनमा बजारेको असिनाझैँ
छरपस्ट र विलिन
उफ ! नापतौलको मृत्यु
यहि होत पहिचानको रहस्य ?
पृथ्वीको माथी थियौ
पृथ्वीलाई नै माथी राखेछ
भुलले या समझले ?
ओहो! कति नुसुहाएको
कस्तो झुन्डिरहेको सर्वश्रेष्ठता !
अनि त्यसभित्र कैद पहिचान
कसलाई केको वास्ता
माथी माथी खोज्छ
कृतिम बनाउँछ र सजाउँछ
देखाउछ बडप्पनको
रमाउँछ संसार
तर,
जब खुल्छ रहस्य
ओहो ! हलुका मुस जस्तै
आगोका फिलङ्गा जस्तै
तब मुस्किलले थुपारेको पहिचान
हल्का हावाले नै छरपस्ट पारिदिन्छ
बल्ल सझिन्छ
आफैले झुन्डाएका,
अझ कैद गरेको
सर्बश्रेष्ठ भित्रको पहिचान
समय ढल्किदै छ,
अझ ढल्किदैछ—पहिचान
तर अब उठाउनुछ
बोकेर देखाउनुछ
ढल्किनु अगावै
सर्वश्रेष्ठताको पहिचान ।