हेटौंडाः मातृभूमि साहित्य समाज मकवानपुरले विभिन्न पुरस्कार वितरण तथा स्रष्टा सम्मान गरेको छ । समाजको २१ औं बार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।
मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेलको सभाध्यक्षतामा भएको सम्मान कार्यक्रममा साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा प्रमुख अतिथि थापाले मातृभूमिको सम्मानले स्रष्टाहरुमा थप ऊर्जा प्रदान गर्ने आशा राख्दै मकवानपुरे साहित्य क्षेत्रलाई चिनाउन मातृभूमिको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
२५ हजार रुपैयाँ राशिको मातृभूमि राष्ट्रिय पुरस्कार २०७७ काठमाडौंका नाटककार सुनिल पोखरेल र निशा पोखरेललाई प्रदान गरिएको छ । १५ हजार रुपैयाँ राशिको ईश्वरी स्मृति पुरस्कार २०७५ चितवनका गजलकार पुष्प अधिकारीलाई सम्मानसहित प्रदान गरिएको छ । यस्तै, १५ हजार रुपैयाँको नित्य गोविन्द स्मृति मातृभूमि संगीत पुरस्कार २०७६ मकवानपुरका बाबु क्षेत्रीलाई प्रदान गरिएको छ ।
१५ हजार रुपैयाँकै श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार २०७६ वीरगञ्जका वरिष्ठ समाजसेवी राजकुमार सिन्धीलाई प्रदान गरिएको हो । ११ हजार रुपैयाँ राशिको होमनाथ बलदेवी मातृभूमि छन्द साहित्य सम्मान २०७७ चितवनका साहित्यकार केशवराज आमोदीलाई, २१ हजार रुपैयाँको मायादेवी मातृभूमि पुरस्कार २०७७ काठमाडौंका बालकथाकार कवि अनुराधा शर्मालाई प्रदान गरिएको छ ।
२०७६ र २०७७ सालको शेखर शर्मा रिजाल मातृभूमि शैक्षिक पुरस्कार क्रमशः सुनसरीका सुवर्णबहादुर थापा तथा चितवनका प्रा. डा. नारायणप्रसाद खनाललाई प्रदान गरिएको छ । दुबै पुरस्कारको राशि १५ हजार रुपैयाँ छ । यस्तै, १० हजार रुपैयाँको हातेमालो मातृभूमि युवा सिर्जनशील साहित्य सम्मान २०७७ मकवानपुरका सुवास खनाललाई प्रदान गरिएको छ । १५ हजार रुपैयाँको क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान २०७७ मकवानपुरका कवि डा. गणेश पौडेललाई र १५ हजार रुपैयाँकै राजकुमार स्मृति मातृभूमि सम्मान २०७७ आसाम, भारतका साहित्यकार कृष्णबिक्रम राणालाई प्रदान गरिएको छ ।
७ हजार ५ सय रुपैयाँको केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०७७ मकवानपुरका पत्रकार सुवर्ण श्रेष्ठलाई तथा ७ हजार ५ सय एक रुपैयाँकै झलकबहादुर बानियाँ स्मृति जीवन संघर्ष मातृभूमि सम्मान २०७७ हेटौंडाका बिसु लामालाई प्रदान गरिएको छ । ७ हजार ५ सय राशिकै मंगलादेवी श्रेष्ठ मातृभूमि बाल सम्मान २०७७ अमर मावि हेटौंडाका दिव्या चौलागाईंलाई प्रदान गरिएको छ ।
कार्यक्रममा मातृभूमि साहित्य समाजका संरक्षक तथा साहित्यकार हयग्रिव आचार्यले मातृभूमिमा २ सय ६० आजीवन सदस्य रहेको बताउनुहुँदै कसैले लुकाइछिपाइ गरी धन आर्जन गरेर जेल जानुभन्दा साहित्यिक क्षेत्रमा कलम चलाएर इतिहासमा नाम रच्नुको बेग्लै आनन्द हुने बताउनुभयो । कार्यक्रममा मातृभूमि साहित्य समाजका संरक्षक तथा वरिष्ठ समाजसेवी मुक्तिगोविन्द वैद्य, लायन्स क्लब ३२५ बी २ का डिस्ट्रिक्ट गभर्नर शम्भु नकर्मीलगायतको उपस्थिति रहेको थियो ।