हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको आसन्न अधिवेशनमा उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलन बहिस्कार गरिएको छ । संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका कृष्णकुमार गुप्ता अग्रवालले आफ्नो प्यानल सार्वजनिक गर्ने भनी बोलाइएको पत्रकार सम्मेलन पत्रकारहरुले बहिस्कार गरेका हुन् ।
गुप्ता प्यानलको उम्मेदवारी घोषणा कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीले मन्तव्यका क्रममा मकवानपुरे पत्रकार र समाचार लेखनका विषयमा विवादास्पद अभिव्यक्ति दिएपछि पत्रकारहरु कार्यक्रमस्थलबाट बाहिरिएका थिए । महासंघ केन्द्रीय सदस्य सुमार्गीले मकवानपुरे पत्रकारको समाचारलाई लिएर टिप्पणी गरेपछि पत्रकारहरुले सुमार्गीलाई पत्रकार सम्मेलनको मुख्य विषयवस्तुमा केन्द्रित हुन आग्रह गरेका थिए । तर, सुमार्गीले समाचार लेखन र पत्रकारविरुद्ध बोल्न नछाडेपछि पत्रकारहरुलेसम्मेलन छाडेका हुन् ।
मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं वार्षिक साधारणसभा तथा महाधिवेशन नजिकिँदै गर्दा उम्मेदवारी उम्मेदवार घोषणा गर्ने र प्रचारप्रसार गर्ने क्रम बढ्दै गएको छ । आगामी चैत्र अन्तिम साता हुने महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका वर्तमान उपाध्यक्ष गुप्ताले प्यानल घोषणाका लागि पत्रकार सम्मेलन गरिएको थियो ।
पत्रकार सम्मेलनमा सुमार्गीले मकवानपुरे पत्रकारहरुको समाचारको विषयलाई लिएको विभिन्न आरोप लगाएपछि पत्रकारहरुले कार्यक्रम नै बहिस्कार गर्दै कार्यक्रमस्थलबाट हिँडेको नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले जानकारी दिनुभयो । सुमार्गीले पत्रकार सम्मेलनमा ‘यहाँ झुटको खेती हुन्छ । गलत कुराहरु लेख्न लगाइन्छ’ भनेर पत्रकारहरुमाथि आरोप लगाएपछि पत्रकारहरुले कार्यक्रमको मुख्य विषयमा बोल्न आग्रह गर्दा सुमार्गीले पत्रकारको विषयहरुलाई लिएर विभिन्न टीकाटिप्पणी गर्न नरोकिएपछि पत्रकारहरुले कार्यक्रम बहिस्कार गरेका थिए ।