लाइनमा भक्तजनहरु ।

हेटौंडाः महाशिवरात्रि पर्वको अवसरमा बिहीबार विभिन्न स्थानका पशुपति मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको छ । फागुन कृष्ण चतुदर्शीका दिन मनाइने शिवरात्रि पर्वको अवसरमा भगवान शिवको दर्शन तथा पूजा गर्नका लागि पशुपति (महादेव) मन्दिरहरुमा भक्तजनको भिड लागेको हो ।

शिवरात्रिको दिन हेटौंडा–४, हुप्रचौरमा रहेको भुवनेश्वर (पशुपति) मन्दिरमा हजारौंको संख्यामा भक्तजनको उपस्थिति रहेको थियो । पशुपति मन्दिरको दर्शन गर्नका लागि सयौंको संख्यामा भक्तजनहरु लाइन लागेका थिए ।

हिन्दू धर्मावलम्बीहरुको मुख्य पर्वमध्येको एक शिवरात्रि पर्वलाई पनि लिने गरिन्छ । यस दिन शिवको नाममा श्रद्धालु भक्तजनहरु व्रत बस्ने गर्दछन् । साथै महिलाहरुले सुखी जीवन तथा अविवाहित महिलाहरु पनि राम्रो श्रीमान प्राप्तिका लागि व्रत बस्ने परम्परा रहेको छ ।

चन्द्रमासको चौधौं दिनलाई शिवरात्रि भन्ने गरिन्छ । नयाँ चन्द्रमा उदाउनुपूर्वको रात अर्थात् औंसीको अघिल्लो रातलाई शिवरात्रि भनिने भएकाले एक वर्षमा १२ वटा शिवरात्रि पर्दछ । तर, फागुन महिनाको कृष्णपक्षको शिवरात्रिलाई महाशिवरात्रिको रुपमा मनाइने गरिएको छ ।

शिवरात्रिकै अवसरमा काठमाडौंको पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ । शिवरात्रिको दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जाग्रामलगायत विधिवत पुजा गर्नाले पुण्य प्राप्ति हुने धार्मिक मान्यात रहेको छ ।