विशिष्ट सदस्यता प्राप्त गर्नुभएका रमेश उप्रेतीलाई प्रमाणपत्र प्रदान गर्नुहुँदै प्रमुख अतिथि डा. नेत्र तिमल्सिना ।

हेटौंडाः नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको ५३ औं वार्षिक साधारणसभा बिहीबार मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५, आमभञ्ज्याङमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी आमभञ्ज्याङ उपशाखाको आतिथ्यमा भएको साधारणसभामा रक्तदाता, वर्षकै बढी रक्तदान गर्ने गरी कार्यक्रम आयोजना गर्ने संस्था, सहयोगी र विभिन्न उपशाखालाई सम्मान गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका सभापति सूर्यचन्द्र न्यौपानेको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. नेत्र तिमल्सिनाको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो । साधारणसभामा ५५ औं पटक रक्तदान गर्ने दिपेन्द्र पाठक, २५ औं पटक रक्तदान गर्ने लक्ष्मी माझी, दूर्लभ समूहअन्तर्गत २२ पटक रक्तदान गर्ने रक्तदाता दिपेन्द्र ढकाल, सबैभन्दा बढी रगत संकलन गर्ने गरी रक्तदान कार्यक्रमको आयोजना गर्ने रेडियो थाहा सञ्चारलाई सम्मान गरिएको छ । यस्तै दक्षिण कोरियामा रोजगारीको सिलसिलामा रहँदा मकवानपुरलाई एम्बुलेन्स खरिद गरी हस्तान्तरण गर्न नेतृत्वदायी भूमिका निर्बाह गर्नुभएकोमा मकवानपुर कोरिया मञ्च दक्षिण कोरिया बर्ष २०१४ का अध्यक्ष रमेश उप्रेती र पूर्ब अध्यक्ष दुर्गा प्रसाद दाहाललाई विशिष्ट सदस्यता प्रदान गरिएको छ ।

साधारणसभाकै अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंकप्रसाद दाहाल, उत्कृष्ट उपशाखा हटिया, उत्कृष्ट युवा सर्कल देवकी मावि फापरबारी, उत्कृष्ट संरक्षक निर्मल माविका प्रधानाध्यापक प्रवोध विडारी, उत्कृष्ट शिक्षक नायक शारदा माविका शिक्षक चन्द्रलाल महर्जन र उत्कृष्ट स्वयंसेवकमा मनहरीका सुजन विकलाई सम्मान गरिएको छ ।

साधारणसभामा नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका मन्त्री खेमराज सापकोटाले शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष पिताम्बर बास्तोलाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा जिल्लामा रहेका २७ वटा उपशाखा तथा जुनियर रेडक्रस सर्कलका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य प्रताप विष्ट, मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको पनि उपस्थिति रहेको थियो ।