हेटौंडाः हेटौंडा–५ स्थित क्याम्पाचौरमा अन्तर्राष्ट्रियस्तरको चार सय मिटरको रनिङ ट्र्याक निर्माण कार्य सुरु गरिएको छ । बिहीबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले रनिङ ट्र्याकको निर्माण कार्यको औपचारिक रुपमा सुरुवात गर्नुहुँदै शिलान्यास गर्नुभएको छ । करिब २७ लाख रुपैयाँ लागत अनुमान गरिएको रनिङ ट्र्याक निर्माण गर्न हेटौंडा उपमहानगरपालिकाले ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
रनिङ ट्र्याक निर्माण गर्न अपुग हुने बजेट सहयोगी, चन्दादाताबाट संकलन गरिने पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभएको छ । रनिङ ट्र्याक दुई महिनाको अवधिमा निर्माण गरी सक्ने लक्ष्यसहित काम सुरु गरिएको घिमिरेको भनाइ छ । रनिङ ट्र्याक शिलान्यास कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँको पनि उपस्थिति रहेको थियो । यसअघि क्याम्पाचौर संरक्षण गर्न घेराबार लगाइएको छ ।
रनिङ ट्र्याकसँगै पिप्ले युवा क्लबले क्याम्पाचौरमा फुटबल मैदान निर्माण गरिरहेको छ । रनिङ ट्र्याकको काम पूरा भएपछि प्यारापिट निर्माण कार्य सुरु गरिने अध्यक्ष घिमिरेले बताउनुभएको छ । ३ बिगाहा १४ धुर क्षेत्रफल रहेको क्याम्पाचौरमा प्यारापिट निर्माणका लागि हेटौंडा उपमहानगरपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । पिप्ले युवा क्लबका अध्यक्ष सुशील बानियाँको नेतृत्वमा ५ नम्बर वडाका आम युवाकै सहभागितामा खेलकुद पूर्वाधार निर्माण तथा खेलकुद गतिविधि बढाउन अग्रसर छ ।
पिप्ले युवा क्लबको प्रयासलाई उपमहानगरपालिकाको कार्यालय, वडा कार्यालय, जिल्लामा रहेका विभिन्न संघ, संस्था, सामाजिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायीको साथ र सहयोग रहँदै आएको छ । एक महिनाअघि मात्रै पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेकै नेतृत्वमा हेटौंडा–५, पिप्लेस्थित बालज्योति मावि परिसरमा निर्माण सम्पन्न बहुउपयोगी कभर्ड हलको उद्घाटन भइसकेको छ । कभर्ड हलको निर्माण कार्य पूरा भएसँगै सुशील घिमिरे नेतृत्वमा वडाका युवाहरु क्याम्पाचौर निर्माणमा अग्रसर भएका छन् ।