हेटौंडाः दिनभरि हेटौंडाको बजारक्षेत्र आसपासमा मिठो गीत गाउने व्यक्ति हुन्, ३२ वर्षीय आइतेसिंह घलान । घलानको जन्म हेटौंडा–१२, पदमपोखरीको पान्तलेमा भएको हो । आमा विन्दुमाया घलान र बुबा युगेश घलानका तीन सन्तानमध्येका एक्लो छोरा घलान जन्मजात दृष्टिविहीन हुनुहुन्छ ।
दृष्टिविहीनको संस्थामा ५ वर्षजति आवद्व भएका घलानले त्यही“बाट गीत गाउन सिक्नुभएको बताउनुभयो । ‘अपाङ्ग केन्द्रमा रहँदा विभिन्न तालिम हासिल गरेको र गीत गाउन सिकेको हुँ’, घलानले भन्नुभयो– ‘पहिला पनि संस्थाबाट गीत गाउँदै हिँड्ने गरेको थिएँ ।’ गीत गाएर आफ्नो खर्चमात्र धान्न सकेको घलानले जानकारी दिनुभयो ।
लकडाउनको बेला ठाउँठाउँमा गीत गाउँदै हिँड्न सहज नभएपछि घरमा आएको घलानले बताउनुभयो । अपाङ्ग केन्द्रबाट निस्किएपछि ४ महिनाजति आफू एक्लै गीत गाउँदै हिँडेको भए पनि अहिले कान्छी श्रीमतीले गीत गाउँदै हिँड्न सहयोग गरिरहेको घलानले जानकारी दिनुभयो । गीत गाएर दैनिक २ सयदेखि ५ सय रुपैयाँ कमाउने गरेको उहाँले बताउनुभयो । जेठी श्रीमतीसँग सम्बन्धविच्छेद भए पनि उनीबाट जन्मिएका तीन जना छोराछोरी भने आफूसँगै रहेको घलानले बताउनुभयो ।
सडकमा बसेर गीत गाउँदा हुने आम्दानीले जेनतेन घरखर्च चलाइरहेको भए पनि छोरीछोरी पढाउन समस्या परेको घलानले बताउनुभयो । आफू दृष्टिविहीन भएको र घरमा वृद्ध बुबाआमा भएपछि घरायसी खर्च धान्न नै मुस्किल परिरहेको घलानले दुःखेसो व्यक्त गर्नुभयो । दुईजना छोरीहरु २ कक्षा र एउटा छोरा एक कक्षामा पढिरहेका भए पनि कपी, कलम तथा ड्रेसका लागि सहयोग गर्न घलानले आग्रह गर्नुभयो । छोराछोरीको पढाइको जिम्मेवारी लिइदिने व्यक्ति वा संस्था पाएमा आफू पुनः अपाङ्ग केन्द्रमा जाने घलानले बताउनुभयो ।