हेटौंडाः नेपाली कांग्रेस अहिले नेकपा ओली समूह र प्रचण्ड–माधव दुबै समूहमा नउभिएको कांग्रेस महामन्त्री शशांक कोइरालाले बताउनुभएको छ । महामन्त्री कोइरालाले अब बस्ने संसदको बैठकको प्रस्तुतिपछि मात्रै नेपाली कांग्रेसले नेकपाको प्रचण्ड–माधव पक्ष या ओली समूहसँग सहकार्य गर्ने रणनीति तय गर्ने बताउनुभयो ।
शनिबार हेटौंडामा दिब्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औं वार्षिकोत्सव तथा रेडियो मकवानपुरको ११ औं वार्षिकोत्वसको समापन अवसरमा कांग्रेस महामन्त्री शशांक कोइरालाले अहिलेको अवस्थामा कांग्रेस नेकपाको कुनै पक्षसँग पनि खुलेर नलागेको बताउनुभयो । महामन्त्री कोइरालाले भन्नुभयो– ‘संसद बैठकको प्रस्तुति कस्तो हुन्छ, त्यसैको आधारमा नेपाली कांग्रेस सोचविचार गरेर रणनीति तयार गर्दै सहकार्य गरी अगाडि बढ्नेछ ।’
नेपाली राजनीतिको महत्वपूर्ण अवस्थाको समयमा नेपाली कांग्रेस रहेको भन्दै महामन्त्री कोइरालाले भन्नुभयो, ‘कांग्रेसले सहकार्य नै नगर्ने होइन । आवश्यक सोचविचार गरेर रणनीति बनाएरमात्रै सहकार्य गर्दै अगाडि बढ्छ ।’ उहाँले विगतमा नेपालको राजनीतिमा विश्वमै कम्युनिष्टहरु समाप्त हुन लागेको समयमा कांग्रेसले हात थामिदिएको र नेपालमा सोही समयबाट कम्युनिष्टको जन्म भएको स्मरण गराउनुभएको थियो ।
कार्यक्रममा नेकपाको प्रचण्ड–माधव समूहकी बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलले व्यक्त गर्दै कांग्रेस महामन्त्री कोइरालालाई मिलेर अगाडि बढ्न तथा सहकार्य गरेर सरकार बनाउन प्रस्ताव गर्नुभएको थियो । विगतमा नेपाली राजनीतिमा कम्युनिष्ट र कांग्रेस मिलेर आन्दोलन गरेको तथा सहकार्य गर्दै अगाडि बढेको स्मरण गराउँदै सांसद सिग्देलले अहिलेको अवस्थमा पनि संयुक्त सरकार बनाउन कांग्रेसलाई प्रस्ताव गर्नुभएको थियो ।
सांसद सिग्देलले देश र संविधानको पक्षमा आफूहरु उभिएको बताउनुभयो । कम्युनष्टिलाई २००७ सालदेखि २०६२/०६३ को जनआन्दोलनसम्म नेपाली कांग्रेसले साथ दिएको तथा कांग्रेसको सहकार्यले गर्दा सफल भएको बताउनुभयो । उहाँले संविधानको पक्षधरमा रहेको नेकपाको पक्ष र कांग्रेसले मात्रै देशको नेतृत्व गर्नसक्ने भन्दै संयुक्त सरकार बनाउनुपर्ने धारणा राख्नुभएको हो ।
पुस ५ गते संसद विघटन भएपछि नेकपाकै प्रचण्ड–माधव समूह सडकमा आएर आन्दोलन गर्नुपरेको भन्दै कांग्रेसले पनि भनेजस्तो आन्दोलन गरेर दबाब सिर्जना गर्न नसकेको उहाँले बताउनुभयो । संसद विघटनविरुद्ध न्यायालयले गरेको आदेश एक कदम अगाडि रहेपनि अहिले नै राजनीतिक संकट टरिनसकेको सांसद सिग्देलको मत थियो । उहाँले अहिलेको राजनीतिक संकट पार लगाउन नेपाली कांग्रेसको साथ खोजेको भन्दै कांग्रेसले साथदिए संकटको समाधान हुने बताउनुभयो ।
अझै पनि सशक्त आन्दोलनको आवश्यकता रहेको भन्दै देशलाई अगाडि बढाउन संयुक्त नेतृत्व आवश्यक भएको सांसद सिग्देलले औंल्याउनुभयो । मुलकको नेतृत्व गर्न संयुक्त सरकार नै आवश्यक भएको भन्दै कांग्रेसलाई सहकार्य गर्न उहाँले आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछाने, थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपाली, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा रेडियो मकवानपुरले समाजमा उत्कृष्ट काम गरेको भन्दै २ जनालाई सामुदायिक सम्मानसहित जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरेको छ । हेटौंडा–५ मा बक्सिङ कभर्ड हल निर्माण सम्पन्न गरेर अहिले क्याम्पाचौर व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी सुशील घिमिरे र सडक बालबालिकालाई गाँस, बास र कपासको सहज व्यवस्थापन गरेर मानवसेवा गरेबापत मामाघर नेपालका अर्पण पराजुलीलाई वर्ष २०७७ को सामुदायिक सम्मानबाट पुरस्कृत गरिएको थियो ।