विद्यालय भवन शिलान्यास गर्नुहुँदै मेयर महत ।


हेटौंडाः हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल माविमा विद्यालय भवन शिलान्यास गरिएको छ । शनिबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले विद्यालय भवनको शिलान्यास गर्नुभएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत आपत्कालिन विद्यालय पुनर्निर्माण आयोजनामार्फत भवन निर्माण हुन लागेको हो ।

१८ कोठे शैक्षिक भवनको निर्माणका लागि शर्मा-एएम जेभीले पाँच करोड दुई लाख ९३ हजार रुपैयाँमा निर्माण सम्झौता गरेको छ । गत जनवरी २४ मा निर्माणसम्बन्धी कार्यको सम्झौता गरेको कम्पनिले फेब्रुअरी ६ बाटै निर्माण कार्य सुरुवात गरिसकेको छ । यस्तै सन् २०२२ को अगस्ट ५ सम्ममा निर्माण कार्य सक्नुपर्नेछ । जापान सरकारको सहुलियत ऋण सहयोगबाट विद्यालय भवन निर्माण गर्न लागिएको हो ।

भवन शिलान्यास कार्यक्रम १९ नम्बर वडा अध्यक्ष नरनाथ सुवेदीको अध्यक्षतामा भएको हो । शिलान्यास कार्यक्रममा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना प्रमुख रामशरण सापकोटा, जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरका प्रमुख बद्रिबहादुर पाठक, वडा सदस्य ईन्दिरा तामाङ, निर्मल माविका प्रधानाध्यापक प्रवोध विडारी, निर्मल बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष्ँ विष्णुहरि पण्डितको पनि उपस्थिति रहेको थियो । १२ कक्षासम्म पठनपाठन हुने निर्मल माविमा एक हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् ।