हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ को शारदा माविका सम्पूर्ण विद्यार्थीहरुलाई दिवा खाजा दिन सुरु गरिएको छ । चालु आर्थिक वर्षमा कक्षा १ देखि १२ सम्मका ६ सय ६० जना विद्यार्थीहरुलाई दिवा खाजा दिन सुरु गरिएको विद्यालयका प्रधानाध्यापक तीर्थ खड्काले जानकारी दिनुभयो । कक्षा १ देखि १२ कक्षासम्म पढ्ने विद्यार्थीहरुलाई दिवा खाजाको लागि मकवानपुरगढी गाउँपालिकाले बजेट छुट्याएसँगै निःशुल्क दिवा खाजा वितरण गर्दै आएको विद्यालयका प्रधानाध्यापक खड्काले बताउनुभयो ।

दिवा खाजा दिन सुरु गरेपछि विद्यार्थीहरु सबै कक्षामा नियमित हुने गरेको तथा ब्रेक टाइममा बिचैमा कक्षा छाडेर घर जानेहरुको संख्या न्यून भएको उहाँले बताउनुभयो । दिवा खाजा विद्यालयले नै उपलब्ध गराउने भएपछि विद्यार्थीहरुको नियमित उपस्थिति अत्याधिक बढेको उहाँको भनाई छ । विद्यालयले साताको खाजाको तालिका नै बनाएको छ । प्रतिविद्यार्थी १५ रुपैयाँका दरले आइतबार भुजा तरकारी, सोमबार हलुवा, मंगलबार चना, भुजा र चिउरा, बुधबार खिर, बिहीबार खिचडी वा पुलाउ र शुक्रबार हलुवा खाजा दिने गरेको विद्यालयले जनाएको छ ।