हेटौंडाः बागमती प्रदेशमा कोरोना भाइरसविरुद्ध खोप लगाएकामध्ये २ जनामा गम्भीर असर देखिएको छ । बिहीबारसम्म बागमती प्रदेशका ५५ हजार ८ सय ७८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएकोमा ३ सय ३४ जनामा खोपको सामान्य असर देखापरेको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक रमेश अधिकारीले जानकारी दिनुभयो ।
निर्देशक अधिकारीले आफूलाई खोप लगाउँदा सामान्य दुखेको र लगाएको स्थानमा त्यस समय रातो भएको बताउनुभयो । यस्तै खोप लगाएको १ घण्टापछि सामान्य जिउ दुखेको महसुस भएको तथा २ रात ज्वरो आएपछि ठिक भएको आफ्नो अनुभव सुनाउनुभएको छ । उहाँले खोपको असर केही समय रहने भन्दै आफैं हटेर जाने बताउनुभयो ।
यसअघि पनि विभिन्न खोप लगाइसकेको र खोपको नकारात्मक असर नभएको भन्दै आफूसहित बागमती प्रदेशमा ३ सय ३४ जनामा सामान्य खालको खोपको असर देखिएको बताउनुभयो । खोप लगाएका केही बेरपछि दुख्ने, रातो हुने तथा ज्वरोसम्म आएको उहाँले बताउनुभयो । खोप लगाएकामध्ये २ जनालाई भने अस्पताल भर्ना हुुनुपर्ने अवस्था आएको निर्देशक अधिकारीले बताउनुभयो ।
कोरोना भाइरसविरुद्धको खोप सर्वप्रथम चिकित्सक र सरसफाइकर्मीहरुलाई दिइएको भन्दै स्वास्थ्य क्षेत्रमा काम गरेका व्यक्तिलाई लगाइएका कारण समस्या नआएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका वरिष्ठ स्वास्थ्य प्रशासक शम्भु काफ्ले बताउनुहुन्छ । सुरुमा खोप लागउँदा डर लागेको तर लगाइसकेपछि आधा घण्टा आराम गरेको बताउनुभयो । खोप लगाएको भोलिपल्टदेखि २ दिनसम्म दुखेको बताउनुभयो । यसबाहेक अतिरिक्त कुनै पनि खोपको प्रतिक्रिया नदेखिएको उहाँको भनाई छ ।
आगामी दिनमा खोप लगाउँदा त्यसको बारेमा परामर्श गर्न सम्पर्क नम्बरहरु दिइएको तथा डाक्टरहरुले पनि नम्बर दिने बताउनुभयो । खोपलाई सामान्यरुपमा लिँदा यसबारेको डर हट्ने भन्दै खोप लगाएपछि सामान्य असर देखिनु नौलो नभएको उहाँको तर्क थियो ।
कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्यकर्मी बसन्त चालिसेले आफूलाई कुनै असर देखानपरेको बताउनुभयो । खोप लगाएको समयमा केही नभएपनि राति शरीर चिसो भएको महसुस भएको उहा“ले जानकारी दिनुभयो ।
शुक्रबार स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले गत आर्थिक वर्ष २०७६/०७७ मा गरेका कार्यक्रमहरुको समीक्षा गरेको छ । गत आर्थिक वर्षमा भएगरेका योजना तथा कार्यक्रमको बारेमा निर्देशनालयका डा. सुरेश महर्जनले जानकारी गराउनुभएको थियो । सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्नुहुँदै उहाँले बागमती प्रदेशमा निर्देशनालयले १३ जिल्लामा आयुर्वेद उपचार सेवा, गर्भवती महिलासम्बन्धी कार्यक्रम, रोग नियन्त्रण तथा निवारणसम्बन्धी कार्यक्रम, पोषणलगायत कीटजन्य रोगहरुसँग सम्बन्धित विभिन्न कार्यक्रहरु गरिएको बताउनुभएको छ । उहाँले सञ्चारकर्मीले निर्देशनालयको कार्यक्रमले जनतामा पुगेको फाइदा तथा बेफाइदाहरु दुबै उठान गरिदिनुपर्ने बताउनुभयो ।
सञ्चारकर्मीसँग सहकार्य गरेर कार्य गर्दा ठूलो उपलब्धी हासिल गर्न सकिने भन्दै निर्देशनालय प्रेसमैत्री हुनुपर्ने नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप बिष्टले बताउनुभयो । कार्यक्रमममा पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईंलगायत मकवानपुरका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।