हेटौंडाः अन्तर्राष्ट्रिय विद्यालय अवार्डका लागि मकवानपुरमा विभिन्न कार्यक्रम भइरहेको छ । मकवानपुरबाट सामुदायिक विद्यालयतर्फबाट प्रतिनिधित्व गर्ने आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले विभिन्न क्रियाकलाप गरिरहेको हो ।
यसैक्रममा सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यार्थीहरुले स्वस्थकर खानाका बारेमा सचेतनात्मक र्याली आयोजना गरेको छ । विद्यालयबाट शुरु भएको र्याली भैरवरोड–स्कूलरोड, सीमाचोकहुँदै विद्यालय परिसरमै पुगेर सकिएको थियो । र्यालीमा कक्षा ७ का करिब एक सय जना छात्रछात्राको सहभागिता रहेको शिक्षक रश्मि बस्नेतले जानकारी दिनुभयो । ब्रिटिस काउन्सिलले आयोजना गरेको अन्तर्राष्ट्रिय विद्यालय अवार्ड प्रतियोगिताका लागि विद्यालयका कक्षा ३ देखि १० सम्म सहभागी रहेका छन् । २०७६ माघदेखि शुरु गरेको क्रियाकलाप कोरोना भाईरस (कोभिड १९) संक्रमणको जोखिमका कारण केही समय अवरुद्ध भएपनि अहिले पुनः शुरु गरिएको शिक्षक बस्नेतले जानकारी दिनुभएको छ ।
अवार्डका लागि कक्षा ८ र ९ मन विद्यार्थीले पनि विभिन्न क्रियाकलाप गरिरहेको छ । शिक्षक सुरज बुढाथोकीका अनुसार अवार्ड प्रतियोगिताका लागि भारत र पाकिस्तानका विद्यार्थीसँग पनि अन्तरक्रिया गरिएको छ । विद्यार्थीहरुले चाडपर्व झल्काउने प्रदर्शनी, ग्रिन हाउस (नर्सरी) भ्रमण, विभिन्न जातिगत खाना बनाउने लगायतको क्रियाकलाप गरेका छन् ।