रेफ्रिलाई बल हस्तान्तरण गर्नुहुँदै उपमेयर मिनाकुमारी लामा

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबारबाट भिडोल विजय यूथ हेटौंडा गोल्डकप सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा मकवानपुर– ११ ले सेन्ट्रल कलेज बीएफसी भरतपुरसँग खेल खेलिरहेको छ । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले खेलको उद्घाटन गर्नुभएको छ । उद्घाटन गर्नुहुँदै उहाँले हेटौंडा उपमहानगरपालिकाले खेलकुदको विकासको लागि सधै सहयोग गर्ने बताउनुभयो ।

हालसम्म खेलकुदको विभिन्न संरचना, कभर्डहल, मिनिरंगशाला लगायत जिम क्बल बनाउदै, मेयर कप फुटबल, उपमेयर कप भलिबल प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो । उहाँले साथमा खेल, गाँसमा खेल र बाँसमा पनि खेललाई महत्वपूर्ण दिने समयमा विगत ८ महिना देखि खेलकुदको गतिविधि हुन नसकेको भन्दै खेल क्षेत्रले पुनः लय समातेको बताउनुभयो ।

एफसी विजय यूथको आयोजना भएको गोल्डकपमा १० टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा एफ.सी रियाले काठमाडौं, विरगञ्ज यूनाईटेड, हर्दि युवा समाज राप्ति, बागमती युवा क्लब सर्लाही, विरगञ्ज यूथ एकेडेमी, दुधौली स्पोट्स क्लब सिन्धुली, सर्लाही जिल्ला फुटबल संघ र एफ.सी विजय यूथ हेटौंडाले सहभागिता जनाएका हुन् ।

प्रतियोगिताको विजेता हुने टिमले नगद ३ लाख रुपैयाँ र उपविजेता हुने टिमले नगद एकलाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट गोलक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकलाई जनही पाँच हजार रपैयाँसाहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल यही माघ २३ गते हुनेछ ।