कुखुरा व्यवसायी संघ मकवानपुरको साधारणसभालाई सम्बोधन गर्नुहुँदै मेयर हरिबहादुर महत ।

हेटौंडाः कुखुरा व्यवसायी संघ मकवानपुरको १४ औं वार्षिक साधारणसभा तथा चौथो विशेष अधिवेशन शनिबार भएको छ । हेटौंडा–८, कमानेस्थित शुभम् पार्टी प्यालेसमा संघका अध्यक्ष राजु अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको हो ।

साधारणसभालाई सम्बोधन गर्नुहुँदै मेयर महतले पोल्ट्री उत्पादनको बजारीकरण गर्न उपमहानगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराउने र हेटौंडा उपमहानगर क्षेत्रमा कृषिमा विदेशी लगानीलाई स्वीकृति नदिने बताउनुभएको छ । यसअघि नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले साना तथा आत्मनिर्भर पोल्ट्री व्यवसायमा विदेशी लगानी भित्र्याउन नहुने बताउनुभएको थियो । यस्तै उहाँले स्थानीय उत्पादनलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्नेमा उपहानगरपालिकाका मेयरलाई ध्यानाकर्षण गराउनुभयो ।

समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठलाई सम्मान गर्नुहुँदै मेयर महत ।

कुखुरा व्यवसायी संघले साधारणसभाको अवसरमा नेपाल पत्रकार महासंघको अक्षयकोषका लागि ५१ हजार एक सय रुपैयाँ सहयोग गर्नुका साथै समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठ, कान्तिपुर दैनिकका संवाददाता सुवास विडारी र तुखबर डटकमका सम्पादक गिरिजा अधिकारीलाई सम्मानसमेत गरेको छ । कार्यक्रममा संघका संस्थापक अध्यक्ष पूर्णध्वज खड्काको पनि उपस्थिति रहेको थियो ।

विशेष साधारणसभाबाट निर्वाचित समिति ।

मकवानपुर कुखुरा व्यवसायी संघको १४ औं वार्षिक साधारणसभा तथा चौथो विशेष अधिवेशनबाट गोकुलनाथ पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । शनिबार भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जयराम अर्याल, प्रथम उपाध्यक्षमा दीपक मिश्र, द्वितीय उपाध्यक्षमा गोविन्द सापकोटा, महासचिवमा श्यामसुन्दर परियार, सचिवमा रविन ढकाल र कोषाध्यक्षमा ऋषिराम दुलाल चयन हुनुभएको छ । यस्तै सदस्यमा नवीन ढकाल, प्रभाकर पुडासैनी, भवनाथ सापकोटा, गोकुल विडारी, मधु मैनाली, मनिषमान श्रेष्ठ, विनोद थापा र लीलानाथ न्यौपाने चयन हुनुभएको छ ।