मकवानपुर बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित पदाधिकारीहरु ।

हेटौंडाः मकवानपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः राजेशहरि जोशी चयन हुनुभएको छ । शनिबार भएको सहकारीको २१ औं साधारणसभाबाट जोशीको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन भएको हो ।

सहकारीको उपाध्यक्षमा विजयसागर श्रेष्ठ, सचिवमा महेन्द्र चित्रकार, कोषाध्यक्षमा भुवनलाल श्रेष्ठ चयन हुनुभएको छ । सदस्यमा राजेन्द्रकुमार मानन्धर, कुमार कटुवाल, परशुराम लामा, पूर्ण शाक्य, चेतकृष्ण श्रेष्ठ, सुविना सुवेदी र शान्ति तारा मानन्धर चयन हुनुभएको छ । यसैगरी सहकारीको लेखा सुपरीवेक्षण समितिको संयोजकमा विमल बास्कोटा, सदस्यमा दीपक अर्याल र सुरेशलाल श्रेष्ठ चयन हुनुभएको छ ।

राजेशहरि जोशीको अध्यक्षतामा भएको साधारणसभामा ज्येष्ठ सदस्य न्हुच्छेराज बज्राचार्य र राजकुमारी सुवेदीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । सहकारीले असल ऋणीमा राजकुमार सिन्तान र चन्द्रदेवी रौनियार, असल कारोबारीमा अविनाश श्रेष्ठ र मधुरानी जैन र एसईईमा उत्कृष्ट अंक हासिल गर्ने आयुषमान केसी, अमृता शाहीलाई पुरस्कृत गरेको छ । साधारणसभाकै अवसरमा सहकारीले हेटौंडामा रहेका मानवसेवा आश्रम, मामाघर नेपाल, अनाथ अपाङ्ग बाल पुनस्र्थापना, ॐ वृद्धाश्रम चौकीटोल, श्रीमद्भागवत ज्ञान सञ्चार वृद्धाश्रम, हाम्रो घर आश्रमलाई खाद्यान्न तथा जिन्सी सामान सहयोग गरेको छ ।

सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुूदै अध्यक्ष जोशीले गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा शेयर पुँजी १३ दशमलब ३४ प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो । यसैगरी निक्षेपमा ११ दशमलब २२ प्रतिशतले र कर्जा लगानीमा ० दशमलब २२ प्रतिशतले वृद्धि गर्न सफल भएको उहाँले बताउनुभयो । सहकारीको आर्थिक प्रतिवेदन कोषाध्यक्ष भुवनलाल श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।

दुई हजार चार सय ५६ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी २ करोड १० लाख, निक्षेप संकलन १८ करोड १२ लाख रुपैयाँ रहेको छ । कोरोना महामारीका कारण सहकारी विभागले तोकेको मापदण्डअनुसार सहकारीको २१ औं साधारणसभा पुस २१ गतेबाट सुरु गरी शनिबार समापन गरेको हो ।