हेटौंडाः बागमती प्रदेशमा नेकपाको विवाद चर्किदै गएको छ । मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपाको बागमती प्रदेशको संसदीय दलका नेता डोरमणि पौडेलले आफूविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेकपाका ३० जना सांसदहरुसँग २४ घण्टे लिखित स्पष्टिकरण माग गर्नुभएको छ । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेशसभाका ४५ जना सांसदमध्ये ३० जनासँग मात्रै लिखित स्पष्टिकरण सोधिएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने अन्यलाई पनि आवश्यकताअनुसार स्पष्टिकरण माग्न सकिने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री डोरमणि पौडेलले पार्टीको हितविपरित काम गरेको तथा आफूमाथि अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका नेकपा संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र दलका सचेतक बुद्धिमान माझीलाई बर्खास्त गर्नुभएको छ । अब बागमती प्रदेशमा नेकपाको उपनेता र सचेतक को हुने भन्ने टुंगो लागेको छैन । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गरेपछि ओलीविरुद्ध नेकपाकै प्रचण्ड–माधव पक्षले विरोध गर्दै आएको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनको टुंगो लागेको छैन भने नेकपाको आधिकारिक समूह कुन हो भनेर कार्यकर्ता पनि अन्यौलमा छन् । दुबै समूहले अहिले आफ्नो समूह आधिकारिक नेकपा भएको भन्दै सडकदेखि सदनसम्म चर्को नारा लगाउँदै हिँडेका छन् ।

अहिले नेकपाको प्रचण्ड–माधव पक्षले आफू बलियो रहेको प्रदेशमा केपी ओली समूहका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ भने ओली पक्षले पनि आफू बलियो भएको प्रदेशमा कारबाही गर्दै आएको छ । नेकपाको दुबै समूहका नेता कार्यकर्ताबीच चर्को विवाद भइरहेको छ ।

नेकपाको भेला जुट कि फुट

बागमती प्रदेशको राजधानी हेटौंडामा प्रचण्ड–माधव पक्षको समूहले नेकपा मकवानपुरको कार्यकर्ता भेला आइतबार गर्‍यो । भेलामा ३ हजार बढी कार्यकर्ता सहभागी भएको बताइएको छ । नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देल तथा सचिव प्रेमबहादुर पुलामीले भेलाको आयोजना गर्नुभएको थियो । यस्तै भोलि बिहीबार ओली समूहले राष्ट्रियता, स्वाधिनता, लोकतन्त्र र समृद्धिका लागि पार्टी सुदृढीकरण अभियानअन्तर्गत् बृहत जिल्ला भेला गर्ने भएको छ ।

हालै सम्पन्न भएको माधव–प्रचण्ड समूहका नेता तथा कार्यकर्ताहरु भने बिहीबार हुने नेकपाको जिल्ला भेलामा सहभागी नहुने भएका छन् । नेकपाको तल्लो तहदेखि नै कार्यकर्ताहरु विभाजन हुने अवस्थामा पुगेका छन् । केही कार्यकर्ताहरु अझै पनि आधिकारिक नेकपा कुन समूहको हो भनेर पर्ख र हेरको अवस्थामा बसेका छन् ।