हेटौंडा–१, चाइनाक्वाटरस्थित अमर मावि ।

हेटौंडाः मावि तह सञ्चालनमा आएको एक दशक भइसक्दा पनि हेटौंडा–१, चाइनाक्वाटरस्थित अमर माविले मावि तहको एकजना पनि शिक्षक दरबन्दी प्राप्त गर्न सकेको छैन । मावि तहका शिक्षक नहुँदा निमावि तहका शिक्षकहरुबाटै पठनपाठन भइरहेको विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीले जानकारी दिनुभएको छ । अमर मावि जस्तै हेटौंडा–३, बसामाडीस्थित अरनिको मावि र हेटौंडा–१५ स्थित भृकुटी माविमा पनि मावि तहको दरबन्दी छैन ।

मावि तहका लागि ५ जना विषय शिक्षक आवश्यक भए पनि एक दशकको अवधिसम्म एकजना पनि मावि तहको शिक्षक नहुँदा समस्या भइरहेको प्रधानाध्यापक उप्रेतीको भनाइ छ । मावि तह कक्षा ९ र १० मा एक सय ६५ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले यसअघि जिल्ला शिक्षा कार्यालय र अहिले स्थानीय सरकारलाई पटक–पटक जानकारी गराउँदा पनि दरबन्दी प्राप्त गर्न नसकेको प्रधानाध्यापक उप्रेतीको भनाइ छ । विद्यालयमा विद्यार्थीको बढ्दो चापका बीच शिक्षक अभावको स्थितिले समस्या भइरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । अमर माविमा अहिले छ सय ८८ बढी विद्यार्थी अध्ययनरत छन् ।