![134209431_430189641439654_7887483417262658575_o](https://samriddhasamaj.com/wp-content/uploads/2020/12/134209431_430189641439654_7887483417262658575_o-696x338.jpg)
हेटौंडाः विहानी स्पोर्टस् क्लबको आयोजनामा हेटौंडामा भएको ८ ‘ए’ साइड कप फुटबल प्रतियोगिताको उपाधि एकेडेमी फुटबल क्लबले जितेको छ । सोमबार भएको फाइनल खेलमा सिद्धबाबा युवा क्लब र एकेडेमी फुटबल क्लबबीचको खेल निर्धारित समयमा बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
निर्धारित समयमा दुबै टिमबाट एक–एक गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एकेडेमी फुटबल क्लबले सिद्धबाबा युवा क्लबलाई ५–४ गोलअन्तरले पराजित गरेको हो । विजयी एकेडेमी फुटबल क्लबले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने द्वितीय हुने सिद्धबाबा युवा क्लबले १५ हजार रुपैयाँमा चित्त बुझाएको छ । २२ वटा टिमको सहभागितामा शुक्रबारबाट हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा प्रतियोगिता सुरु भएको थियो ।