तस्बीरः गुगल ।

हेटौंडाः बिहानी स्पोर्टस क्लबको आयोजनामा शुक्रबारबाट हेटौंडामा सुरु भएको प्रथम बिहानी ८ ‘ए’ साइड फुटबल प्रतियोगितामा सिद्धबाबा युवा क्लबले विजयी सुरुवात गरेको छ । शनिबार बिहान भएको खेलमा न्यूरेनी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै सिद्धबाबाले विजयी सुरुवात गरेको हो । सिद्धबाबा युवा क्लबको जितमा रविन ढुंगानाले खेलको अन्तिम समयमा निर्णायक गोल गरे ।

शनिबार भएको दोस्रो खेलमा हेटौंडा फुटबल एकेडेमीले पशुपति युवा क्लबलाई २–० गोलअन्तरले पराजित गरेको छ । हेटौंडा एकेडेमीको जीतमा दुबै गोल म्यान अफ द म्याच राजकुमार स्याङ्तानले गरे । तेस्रो खेलमा राईजिङ फुटबल क्लबले रियल स्टारलाई २–० गोलअन्तरले पराजित गर्‍यो । राइजिङ फुटबल क्लबको जीतमा गौरव गौतम र सिजन क्षेत्रीले १-१ गोल गरेका थिए । म्यान अफ द म्याच सिजन क्षेत्री घोषित भए । चौथो खेलमा फुटबल क्लब वनस्खण्डीले फुटबल क्लब चाईनालाई २–० गोलअन्तरले पराजित गरेकोे छ ।

फुटबल क्लब वनस्खण्डीको जीतमा दुबै गोल म्यान अफ द म्याच सुजन कार्कीले गरे । पाचौं खेलमा हेटौंडा क्लबले अमर युवा क्लबलाई २–० गोलअन्तरले पराजित गरेको छ । हेटौंडा क्लबका जीतमा दुबै गोल म्यान अफ द म्याच मनोज लामाले गरेका थिए । शनिबार भएको छैठौं खेलमा एडी टीमले हेटौंडा फरेष्ट्रीलाई २–० गोलअन्तरले पराजित गरेको छ । एडि टीमका लागि दुबै गोल ऋषि लामाले गरे । प्रतियोगितामा प्रथम हुनेले ३० हजार र दोस्रो हुने १५ हजारसहित शिल्ड, मेडल प्राप्त गर्नेछ ।