हेटौंडाः ३०२ औं नियमित साहित्य सन्ध्या शनिबार कवि तेजविक्रम कार्की विशेष आयोजना गरिएको छ । नियमित सन्ध्याको अवसरमा रौतहट जिल्लाका तेजविक्रम कार्कीले ६ वटा कविता वाचन गर्नुभएको छ । कार्कीले रहर, मधेश, आरोहण, मायाको कुरा, फरक र मलाई हेर्ने ऐना शीर्षकका कविताहरु वाचन गर्नुभएको थियो । कार्कीका कवितामाथि गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीले टिप्पणी गर्नुभएको थियो ।
कोरोना भाइरस महामारीको जोखिमसँगै भौतिक उपस्थितिमा गत वैशाखयता नियमित साहित्य सन्ध्याको आयोजना हुन सकेको थिएन । शनिबारको साहित्य सन्ध्या भने साहित्य संगम तथा सिस्नुपानी नेपालको सभाकक्षमा भौतिक उपस्थितिमा आयोजना गरिएको थियो । साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलको अध्यक्षता तथा वरिष्ठ साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा अन्य साहित्यकारले पनि रचना वाचन गरेका थिए । कार्यक्रममा साहित्य संगम मकवानपुरका पूर्वअध्यक्ष आरसी रिजाल, निवर्तमान अध्यक्ष सुवास खनाल, मातृभूमि साहित्यिक पत्रिकाका सम्पादक देवराज खरेलको पनि उपस्थिति रहेको थियो ।
गत चैतमा लकडाउन घोषणाभएपछि बैशाखमा नियमित साहित्य सन्ध्या हुन सकेको थिएन भने जेठ महिनादेखि भर्चुअल माध्यमबाट हरेक महिनाको दोस्रो शनिबार नियमित साहित्य सन्ध्याको आयोजना गर्दै आएको र अहिले भौतिक रुपमा नै सहभागी भएर साहित्य सन्ध्याको आयोजना गरिएको साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलले जानकारी दिनुभएको छ ।