हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले स्थानीय तहस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आइतबार जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको ७२ औं बोर्ड बैठकले १० वटै स्थानीय तहहरुको सहभागिता हुने गरी प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले जिल्ला समन्वय समितिको आयोजना एवम् जिल्ला खेलकुद विकास समिति मकवानपुरको व्यवस्थापनमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो । स्थानीयस्तरमा फुटबलको विकास गर्ने, नयाँ खेलाडी उत्पादन गर्ने तथा राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्नसमेत मद्दत पुग्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । प्रतियोगिताको सम्पूर्ण आर्थिक व्यवस्थापन आयोजकले गर्ने र व्यवस्थापकीय पक्ष जिल्ला खेलकुद विकास समितिले गर्ने प्रमुख खुलालले जानकारी दिनुभयो ।

बैठकले जिल्ला समन्वय समिति मकवानपुरले सञ्चालन गर्न लागेको व्यवसाय सम्बद्र्धन केन्द्रसम्बन्धी काम अगाडि बढाउने निर्णय गरेको छ । बैठकले अवधारणापत्र तयार पारेर छलफलमा रहेको केन्द्रको काम कारबाही अगाडि बढाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बैठकले मानवसेवा र बालबालिकाको क्षेत्रमा काम गरिरहेका विभिन्न संघसंस्थाहरुको अनुगमन गर्ने, जिल्लास्थित विभिन्न स्थानीय तहमा केन्द्र, प्रदेश र स्थानीय तह तथा जिससको लगानीमा सञ्चालित आयोजनाहरुको अनुगमन गर्ने, तत्कालीन जिविसद्वारा हेटौंडा–६ स्थित कर्रा खोलामा लगाइएको बेलीब्रिज बकैया गाउँपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । कर्रा खोलामा पक्की पुल निर्माणपछि उक्त बेलीब्रिज निकालिएकोमा उक्त ब्रिज गाउँपालिकाद्वारा माग भइआएकोले हस्तान्तरण गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, सदस्यहरु देवराज रिमाल, गणेशकुमारी प्रधान, सीता अधिकारी, सरिता विक, चित्रबहादुर बलामी, बुद्धिबहादुर मोक्तान, सानोकान्छी स्याङ्तान, समन्वय अधिकारी आनन्दराज पोखरेल, कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।