हेटौंडाः बागमती प्रदेशको प्रदेशसभाको सातौं अधिवेशन आगामी पुस महिनाबाट सुरु हुने भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले लामो समयदेखि कोरोना भाइरसको जोखिमका कारण बस्न नसकेको प्रदेशसभाको बैठक पुसमा बस्ने भएको जानकारी दिनुभयो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग भएको छलफलपछि आगामी पुसमा मन्त्रिपरिषद्ले प्रदेशसभाको बैठक आह्वान गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने भएको हो । प्रदेश प्रमुखको आदेशअनुसार बैठक सुरु हुने सभामुख श्रेष्ठले बताउनुभयो । गएको साउन महिनादेखि प्रदेशसभाको बैठक बस्न सकेको छैन ।
बुधबार प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै सभामुख श्रेष्ठले प्रदेशसभाले गरेका कामहरुको जानकारी दिनुभएको छ । प्रदेशसभाले प्रकाशित गरेको पुस्तक तथा टोलिफोन डायरी पनि सभामुख श्रेष्ठले सार्वजनिक गर्नुभएको छ । सभामुख श्रेष्ठले हालसम्म प्रदेशसभाको पहिलो अधिवेशनदेखि छैठौं अधिवेशनसम्म एक सय ७६ पटक बैठक बसेको तथा ७५ वटा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको जानकारी दिनुभयो । गएको छैठौं अधिवेशनमा मात्रै २४ वटा बैठक बसेको छ भने कार्यव्यवस्था परामर्श समितिको बैठक ७ वटा भएको छ । उक्त अधिवेशनबाट १० वटा विधेयक पारित भएको छ भने त्यसपछि २ वटा अध्यादेश पारित गरिएको सभामुख श्रेष्ठले बताउनुभयो ।
हालसम्म बागमती प्रदेश सभामा ६० वटा विधेयक प्राप्त भएकोमा ५९ विधेयक प्रदेशसभाले पारित गरेको जानकारी सभामुख श्रेष्ठले दिनुभयो । यस्तै सडकसम्बन्धी एक विधेयक समितिमा दफाबार छलफलका लागि पेश भएको र समितिले त्यसलाई पारित गरिसकेको सभामुख श्रेष्ठले जानकारी दिनुभयो । अब बस्ने प्रदेशसभा बैठकमा सो विधेयक छलफल गरेर पारित गर्ने उहाँले बताउनुभयो । प्रदेशसभाको सुविधासम्पन्न सभाहल ६ महिनामै निर्माण सम्पन्न गर्नेगरी काम सुरु भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई निर्माण कम्पनीले सकेसम्म ६ महिनासम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने भनेको छ ।’ सातौं अधिवेशनमा नसकिए अर्को अधिवेशन नयाू हलमा हुने उहाँले जानकारी दिनुभयो ।
प्रदेशसभाका विभिन्न समितिको बैठक बस्न अब हलको अभाव नहुने सभामुख श्रेष्ठले जानकारी दिनुभयो । पाँच वटा प्रदेश समितिहरु रहेपनि ३ वटा समितिको एकैसाथ बैठक बस्न सकिने गरी ३ वटा हलको व्यवस्थापन भएको जानकारी दिनुभयो । यस्तै नेकपा संसदीय दलको कार्यालय निर्माण सम्पन्न भएको र सुविधासम्पन्न भिडियो कन्फ्रेन्सिङ हलको निर्माण भएको छ । प्रदेशसभा भवनको कम्पाउण्डभित्रका विभिन्न गतिविधि निगरानी गर्न सीसीटिभी क्यामेरा जडान गरिएको उहाँले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा प्रदेशसभाकी उपसभामुख राधिका तामाङ, प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालगायत सचिवालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।