हेटौंडाः ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल र जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरको आयोजनामा भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा सदाचारसम्बन्धी विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख बद्रीबहादुर पाठकको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समवन्य समितिका अध्यक्ष रघुनाथ खुलालको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि खुलालले भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापना सन्दर्भमा जहाँजहाँ समस्या आउँछ त्यहाँ आफ्नो क्षमताले भ्याएसम्म यथोचित तरिकाले समन्वय र सहजीकरण गर्दै आइरहेको बताउनुभयो । उहाँले शिक्षाको क्षेत्रमा जिल्ला आयोजना कार्यान्वयन इकाईसँग पछिल्लो समयमा अझै बढी समन्वय र सहकार्य भएको र त्यसको फलस्वरुप विद्यालय पुनर्निर्माण र पुनस्र्थापनामा देशमै अग्रस्थानमा रहेको बताउनुभयो । यो सफलता सबैको पहल र प्रयत्नको प्रतिफल रहेको र राज्यले दिएको सहुलियत पनि भएकाले सबै विद्यालयका प्रतिनिधिहरुलाई समयमै कार्यसम्पन्न गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा ) का प्रमुख बद्रीबहादुर पाठकले २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति भएका शैक्षिक संरचना (विद्यालय भवन) निर्माणको कार्य अन्तिम चरणमा रहेको बताउनुभयो । मकवानपुर जिल्लामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत् केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) बाट आर्थिक वर्ष २०७३/०७४ देखि प्राप्त विद्यालय पुनर्निर्माणका कार्यक्रमहरु विद्यालय व्यवस्थापन समितिसँग सम्झौता, ठेक्का प्रणाली र संघसंस्थामार्फत् गरी तीनवटा मोडालिटीमा सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

प्रमुख पाठकले विद्यालय निर्माणमा काम गर्ने मिस्त्री र विद्यालयको निर्माण कार्यमा सहजीकरण गर्न गराउन विगत वर्षदेखि नै विद्यालय पुनर्निर्माण गर्दै आइरहेको अवस्थामा यस आर्थिक वर्षमा पनि निर्माण सुरु भएका ६१ वटा विद्यालय भवन (२, ३ र ४ कोठे) र ७८ वटा शौचालय निर्माणका क्रममा रहेको उहाँले बताउनुभयो । उहाँले विद्यालयका प्रतिनिधिहरुलाई निर्माण कार्य गुणस्तरीय र तोकिएको समयमै सम्पन्न गर्न अनुरोध गर्दै र जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) सधैं समन्वयका लागि तयार रहेको बताउनुभयो । कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।