लैंगिक हिंसाविरुद्धको अभियान मकवानपुरमा पनि सञ्चालन भइरहेको छ । जिल्लामा विभिन्न सचेतनामूलक कार्यक्रम गरी लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा मकवानपुरमा घरेलु हिंसाका घटनाले समाजलाई सोच्न बाध्य बनाएको छ । प्रत्येक वर्ष लैंगिक हिंसाविरुद्ध अभियान सञ्चालन हुन्छन् । महिला हिंसाविरुद्धमा त प्रायः सबै महिनामा चेतनामूलक कार्यक्रमहरु आयोजना भइरहेका छन् । तर पनि हिंसाका घटना बढिरहेका छन् । कानुनी उपचार नभएर त होइन तर कार्यान्वयनमा समस्या भएर पो हो कि भन्ने प्रश्न उठ्दै आएको छ । कार्यक्रम भइरहने तर घटना बढ्दै जाने हो भने संघसंस्थाको प्रभावकारितामाथि प्रश्न गर्नुपर्ने हुन्छ । विशेषतः महिला हिंसाका घटना विरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन आवश्यक छ ।
नेपाली समाजको बनौट, सांस्कृतिक मूल्य, मान्यता र परम्परागत मूल्य, मान्यतालाई गलत अर्थमा प्रयोग गर्दा पनि हिंसा हुने गरेको छ । परिवर्तनका लागि अभियानहरु हुँदै जाने तर विकृति, विसंगति मौलाउँदै जाने हो भने दिवस तथा कार्यक्रमको औचित्यमाथि नै प्रश्न उठ्ने गर्दछ । जति कार्यक्रम भए पनि महिला हिंसाका घटनामा कमी आएको पाइँदैन । प्रहरीको तथ्यांकले गतवर्षमा देशभरमा औसत दैनिक छ जना महिलाहरु बलात्कृत भएका छन् । दैनिक २ जनामाथि बलात्कारको प्रयास भएको छ भने ३४ जना महिलालाई बोक्सीको आरोपमा दुव्र्यवहार हुँदै आएको छ । पीडितलाई न्यायका लागि प्रोत्साहन गर्न पनि कार्यक्रम आवश्यक हुन्छन् । साथै घटनामा न्यूनीकरण नहुनको कारणबारे अनुसन्धान पनि आवश्यक छ ।
मकवानपुरमा यसै आर्थिक वर्षको साउनदेखि कार्तिक महिनासम्म ७२ वटा विभिन्न किसिमका घरेलु हिंसाका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा साउन महिनामा मात्र २१ वटा घरेलु हिंसाको उजुरी परेकोमा १० वटा मिलापत्र, ६ वटा जिल्ला अदालतमा गएको र ५ वटा अनुसन्धानकै क्रममा छन् । भदौ महिनामा १४ वटा उजुरी परेकोमा ११ वटा मिलापत्र गरिएको, २ वटा अदालतमा गएको र एउटा उजुरी अनुसन्धानकै क्रममा रहेको छ । त्यस्तै, असोजमा २३ वटा घरेलु हिंसाको उजुरी परेकोमा १९ वटा मिलापत्र गरिएको, ३ वटा अदालतमा गएको छ भने एउटा अनुसन्धानकै क्रममा रहेको छ । कार्तिक महिनामा भएका १४ वटा घटनामा ९ वटा उजुरीको मिलापत्र गरिएको, एउटा जिल्ला अदालत गएको र ४ वटा उजुरीहरु अनुसन्धानकै क्रममा देखिन्छन् ।
चार महिनामा मकवानपुरमा भएका घटनाको यो तथ्यांकले सामाजिक अवस्था र चिन्तनमाथि गम्भीर प्रश्न उठ्ने देखिन्छ । प्रहरीसम्म पुगेका घटनाको तथ्यांकले नै अवस्थाको जटिलता प्रष्ट हुन्छ भने सामाजिक मर्यादा र स्थानीय डरधम्की वा मिलापत्रका कारण अझै धरै घटना बाहिर आउनै सक्दैनन् । प्रहरीमा आएका घटनामा पनि मिलापत्र गराउने प्रयास बढी नै देखिन्छ । घटना हुन नदिने र भएमा पीडितलाई कारवाही गराउनेसम्मको आँट राख्ने वातावरण बनाउने जिम्मेवारी सामाजिक कार्यकर्ताको हो । विभिन्न नाममा हुने अभियानहरुले नागरिकमा आत्मविश्वास बढाउन आवश्यक छ । यस्तै हिंसाविरुद्ध मानिसलाई संगठित गर्ने तथा अन्यायका विरुद्धमा सम्बन्धित निकायसम्म जान उत्पे्ररित गर्नु आजको आवश्यकता हो ।