हेटौंडाः मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिको आयोजनामा प्रथम, दोस्रो तथा डान ग्रेडिङ कार्यक्रम शनिबार भएको छ । मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिका अध्यक्ष लालकाजीरत्न बज्राचार्यको सभाध्यक्षतमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि हरिबहादुर महतले नगरका विकट गाउँहरुमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडकमार्ग सुविधा पुर्‍याउनु आफ्नो प्राथमिकताको विषय भएको बताउनुभयो । मेयर महतले हेटौंडा उपमहानगरपालिकालाई हरियाली नगर बनाउनुका साथै हेटौंडा उपमहानगरलाई खेलकुदमय बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले खेलकुद क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षमा विशेष बजेट विनियोजन गर्ने बताउनु भयो ।

तेक्वान्दो कार्यसमितिका अध्यक्ष लालकाजीरत्न बज्राचार्यले प्रथम, दोस्रो तथा डान ग्रेडिङ कार्यक्रममा सहभागी भएका सिनियर खेलाडीलाई हेरेर नै जुनियर खेलाडीहरु अघि बढने भएकोले आफ्नो खेल कर्ममा राम्रो गर्दै जान खेलाडीहरुलाई सुझाव दिनुभयो । सिनियर खेलाडी १० जना र जुनियर खेलाडी १५ जना गरी २५ जना खेलाडीहरुलाई प्रथम, दोस्रो तथा डान ग्रेडिङको प्रमाणपत्र वितरण गरिएको छ ।

कार्यक्रममा मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिका संस्थापक अध्यक्ष दिलिप राजथला, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा, भलिबल खेलका प्रशिक्षक बिनोद श्रेष्ठ, बक्सिङ खेलका प्रशिक्षक लाला पौडेल लगायतको उपस्थिति रहेको थियो ।