हेटौंडाः जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । मंसिर १६ गतेदेखि सुरु भएको साधारणसभा शनिबार सम्पन्न गरिएको हो । कोभिड–१९ संक्रमण जोखिमलाई ध्यानमा राखेर सहकारी विभागद्वारा जारी निर्देशिकाबमोजित ५ दिनको अवधिमा सेयर सदस्यलाई कार्यालयमा उपस्थिति गराउनुका साथै आवश्यक सल्लाह, सुझाव संकलन गरिएको व्यवस्थापक राजकुमार चौलागाईले जानकारी दिनुभएको छ ।
शनिबार बागमती प्रदेश सभा सदस्य कुमारी मुक्तानको प्रमुख आतिथ्यमा समापन कार्यक्रम भएको हो । सहकारीका अध्यक्ष महेश कुमार सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कुमारी मुक्तानले उत्कृष्ट कर्मचारीको रुपमा व्यवस्थापक राजकुमार चौलागाई र कार्यालय सहायक राजेश देउजालाई सम्मान गर्नुभयो ।
यस्तै असल ऋणिको रुपमा रामेश्वर बहादुर कार्की र हरिसाद भट्टराईलाई सम्मान गरिएको छ भने असल बचतकर्ताको रुपमा सीता चौलागाई र मनोज जमरकट्टेललाई सम्मान गरिएको छ । छ सय नौं जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी ७३ लाख ५९ हजार रुपैयाँ, बचत संकलन दुई करोड ७३ लाख १० हजार रुपैयाँ र ऋण लगानी तीन करोड एक लाख रुपैयाँ रहेको छ ।