हेटौंडाः हेटौंडा–४ स्थित ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानद्धारा संचालित पुनर्नवा अस्पताल (प्राकृतिक चिकित्सा) को शनिबार उद्घाटन भएको छ । गएको असार महिनादेखि सञ्चालनमा आएको अस्पतालको शनिबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभएको हो ।
अस्पतालको उद्घाटन गर्नु हुदै मुख्यमन्त्री पौडेलले पुनर्नवा अस्पताल सबैको साझा सम्पति भएको र सबैको स्वामित्व हो भन्ने कुरा ग्रहण गर्यौ भने सजिलै अस्पताल माथि उठ्न सक्ने बताउनुभयो । स्थापना भएको ५/६ महिनामै प्रगति राम्रो भएकोले अस्पतालको भविष्य उज्यालो रहेको र आफु सरकारमा भएपनि नभए पनि अस्पतालको विकासका लागि सदैव तत्पर रहने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
हालसम्म पुनर्नवा अस्पतालमा १ सय ४७ जनाले सेवा लिइसकेको अस्पतालका निर्देशक डा. दिपक पौडेलले बताउनुभयो । १ सय ४७ जनाको सेवा शुल्क बापत ७ लाख ४५ हजार आम्दानी गरी अस्पताल संचालन हुने खर्चमा ६५ प्रतिशत खर्च धान्न सफल भएको समेत उहाँले बताउनुभयो । प्रतिष्ठानको लक्ष्य अनुरुप कार्य गर्न राष्ट्रिय योजना आयोगबाट नवप्रवद्र्धन कार्यक्रमका लागि माग गरिएको सुचना अनुसारको ऋण रकम प्राप्त गर्न अस्पतालले प्रस्ताव समेत पेश गरेको छ । त्यस्तै जडिबुटि उत्पादन,बिक्रिवितरण एवम् रोजगारीको सिर्जना गर्दै सर्वसुलभ वैकल्पिक स्वास्थ्य सुविधा उपलब्ध गराउने र आगामी दिनहरुमा नेपाल सरकार, प्रदेश सरकार, हेटौडा उपमहानगरपालिका, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा आयुर्वेद तथा बैकल्पिक चिकित्सा सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने र आम नागरिकको स्वास्थ्य सुधारका निम्ति लागि पर्ने अस्पतालको उदेश्य रहेको उहाँले जानकारी दिनुभयो ।
पुनर्नवा अस्पतालका अध्यक्ष ललितकुमार बस्नेतको सभाअध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशको प्रदेश सभाकी सदस्य मुनु सिग्देल, जुनेली माया श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुर जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्री लम्साल, हेटौडा उपमहानगरपालिकाका प्रमुख हरी बहादुर महत, १२ नम्बर वडा अध्यक्ष ललित घलान लगायतको उपस्थिति रहेको थियो ।