हेटौंडाः बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडाका थप २ अस्पतालले १६ बेडको आईसीयू सेवा सञ्चालनमा ल्याउने भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्र्तगत्को मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौंडा अस्पताल) र मकवानपुर सहकारी अस्पतालले आईसीयूसहितको भेन्टिलेटर सेवा सञ्चालनमा ल्याउने भएको हो ।
सरकारी अस्पतालको रुपमा रहेको हेटौंडा अस्पतालले मंसिर १५ गतेबाट ७ बेड आईसीयू र ६ वटा भेन्टिलेटर सञ्चालनमा ल्याउने तयारी गरेको हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो । यस्तै, हेटौंडा अस्पतालले १० बेड रहेको उच्च तहको उपचार कक्ष अर्थात् एचडीयू कक्ष पनि सञ्चालनमा ल्याउन लागेको अध्यक्ष पौडेलले जानकारी गराउनुभयो । लामो समयपछि पहिलो पटक हेटौंडा अस्पतालमा आईसीयूसहितको भेन्टिलेटरको सेवा सञ्चालनमा आउन लागेको हो । यसका लागि हेटौंडा अस्पतालमा आवश्यक जनशक्ति रहेको पनि जनाएको छ । डाक्टर, नर्स, सहयोगीलगायत नपुग जनशक्ति हालसालै विज्ञापन गरेर नियुक्ति गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।
आगामी दिनमा थप आईसीयू सेवा विस्तार गर्न १७ बेडमा मनिटर जडान गरेर तयारी अवस्थामा राखिएको छ । अबको ५ महिनापछि हेटौंडा अस्पतालको निमार्णाधीन भवन अस्पताललाई हस्तान्तरण भएसँगै २० बेड आईसीयू र थप २५ बेड एचडीयूको सेवा विस्तार गरिने योजना अघि बढेको अध्यक्ष पौडेलले बताउनुभयो । अस्पतालमा आईसीयू र एचडीयू सेवा सञ्चालन गर्न आफू दिनरात लागिपरेको भन्दै मंसिर १५ गतेबाट ७ बेड आईसीयू र ६ वटा भेन्टिरलेटरको सेवा सञ्चालन गर्ने तयारी भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गरिब, विपन्न परिवार तथा स्वास्थ्य बिमकहरुले पनि बिमाबाटै यो सेवा पाउन सक्नेछन् । यस्तै, सरकारी अस्पतालमा यो सेवा पाएपछि मकवानपुरमा आईसीयू बेड चार्जमा पनि कमी आउने तथा भरतपुर र काठमाडौं रिफर भएर जानुपर्ने समस्या नहुने उहाँले बताउनुभयो ।
ढिलै भएपनि आईसीयू सुरु गर्न लागिरहेको बताउनुहुँदै थप सेवाहरु पनि विस्तार गरिँदै लैजाने उहाँको भनाई छ । हेटौंडा अस्पतालले अबको केही समयपछि डायलासिसको सेवा पनि सञ्चालनमा ल्याउने तयारी गरेको छ । यसैगरी, मकवानपुर सहकारी अस्पतालले पनि यही मंसिर महिनाभित्रै ९ बेडको आईसीयू, ईआईसीयू तथा एनआईसीयू एउटा सञ्चालनमा ल्याउने बताएको छ । सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जनले सम्पूर्ण बेडलगायत मेशिनहरु आएको तर जडान हुन बाँकी रहेको जानकारी दिनुभयो । यही मंसिर महिनाभित्रै जडान सम्पन्न गरेर परीक्षण भएलगत्तै सहकारी अस्पतालमा आईसीयू, एनआईसीयू र ईआईसीयू सेवा सञ्चालनमा आउने भएको हो । अहिले हेटौंडाका २ अस्पतालमा ९ बेडको आईसीयू सेवा उपलब्ध रहेको छ । हेटौंडा–११, थानाभर्याङस्थित चुरेहिल अस्पतालमा ६ बेड र हेटौंडा–१ भिन्तुनापथस्थित सन्चो अस्पतालमा ३ बेडको आईसीयू सेवा सञ्चालनमा रहेको छ ।
चुरेहिल अस्पतालले चालु अवस्थामा ६ बेडको आईसीयूसहित २ वटा भेन्टिलेटरको सेवा प्रदान गरिरहेको अस्पतालका प्रशासन शाखा प्रमुख विवेक मानन्धरले जानकारी दिनुभयो । कोभिड–१९ को महामारीको समयमा मकवानपुरमा आईसीयू बेड सहजरुपमा नपाएपछि चितवन र काठमाडौं रिफर
गरेर जानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । कोरोना महामारीको समयमा आईसीयू र भेन्टिलेटरको अत्याधिक माग भएपनि पर्याप्त सेवा मकवानपुरबासीलाई उपलब्ध गराउन नसकिएको मानन्धरले बताउनुभयो । हाल चुरेहिल अस्पतालले बिमा सेवाबाट र शुल्क तिर्नेलाई प्रतिदिन आईसीयू बेडको शुल्क ३ हजार रुपैयाँ लिँदै आएको छ ।
यस्तै, हेटौंडामा केही महिनाअघि सञ्चालनमा आएको सन्चो अस्पतालमा ५ बेडको आईसीयू रहेता पनि हाल ३ बेडमात्र सञ्चालनमा रहेको अस्पतालले जनाएको छ । गएको तिहारबाट सन्चो अस्पतालमा एनआईसीयुको शुभारम्भ गरेपनि हाल कर्मचारी नहुँदा सञ्चालनमा आउन सकेको छैन । सन्चो अस्पताले अहिले एउटा भेन्टिलेटरसहितको आईसीयू बेडको सेवा प्रदान गरिरहेको छ ।