गुगल तस्बिर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेका विद्यालयका प्रधानाध्यापकहरुको बैठक सम्पन्न भएको छ । कोभिड–१९ महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयमा सुरक्षितरुपमा पठनपाठन सुचारु गर्ने उद्देश्यले बैठक गरिएको हो ।

वडामा रहेका ७ वटा सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्षसँग विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै कसरी सुरक्षितरुपमा सञ्चालन गर्ने भन्ने बिषयमा छलफल भएको वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिनुभयो ।बैठकमा आफैंले मास्क किनेर लगाउन नसक्ने विद्यार्थीका लागि विद्यालयले मास्कको व्यवस्था गरिदिनुका साथै सेनिटाइजर र साबुन पानीको व्यवस्था गरिदिने निर्णय भएको छ । विद्यालय खुलेसँगै विद्यालयले विद्यार्थीलाई कोरोना भाइरसम्बन्धी आवश्यक सचेतना प्रदान गर्ने र विद्यार्थीहरुको ज्वरो नाप्न स्वास्थ्य कार्यालयले थर्मोमिटर उपलब्ध गराउने निर्णय भएको छ ।

बैठकमा अमर माविका प्राधानाध्यापक मालती उप्रेती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गौतम, बाराही आधारभूत विद्यालयका प्राधानाध्यापक मञ्जु देवकोटा, कालिका अधारभूत विद्यालयका प्रधानाध्यापक सुकदेव काफ्ले, सरस्वती अधारभूत विद्यालयका अध्यक्ष लवाङ् सिन्तान, यातायात इङ्लिस बोर्डिङका प्रधानाध्यापक कृष्णप्रसाद बर्तौला, भैरब आधारभूत विद्यालयका रमेश सुवेदी र अध्यक्ष कृष्णप्रसाद पुडासैनीलगायत वडा प्रतिनिधिहरुको उपस्थिति रहेको वडा अध्यक्ष न्यौपानेले बताउनु भएको छ ।