हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले भोलि बिहीबारदेखि नगरका सबै विद्यालय सुचारु गर्न विद्यालयलाई निर्देशन दिएको छ । स्वास्थ्य सतर्कता अपनाएर विद्यालय सुचारु गर्न आज हेटौंडा उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास महाशाखाले विद्यालयलाई पत्राचार गरेको छ । महाशाखाका प्रमुख पूर्णबहादुर अछामीले विद्यालय सञ्चालन कार्यढाँचा २०७७ ले तोकेबमोजिम हुने गरी कक्षा सञ्चालन गर्न भनी विद्यालयलाई पत्राचार गर्नुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, कर्मचारीको संयुक्त निर्णयबाट विद्यालय सुचाारु गर्न पनि भनिएको छ । विद्यालय सुचारु भएपछि अनुमगनको जिम्मेवारी भने वडा शिक्षा समितिलाई तोकिएको छ । उपमहानगरपालिकाबाट विद्यालय सुचारु गर्ने निर्णय तथा निर्देशन अघि नै नगरका अधिकांश विद्यालयमा पठनपाठन भने सुचारु भइसकेको छ ।