हेटौंडाः बागमती प्रदेश सरकारले निजीक्षेत्र र सरकारी लगानी भएको बैंकसँगको सहकार्यमा युवालाई उद्यममा प्रेरित गर्ने भएको छ । बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनसँगको सहकार्यमा युवालाई उद्यममा प्रेरित गर्न उद्यम सुरुवातको आकर्षक अवधारणा प्रस्तुत गर्नेलाई तालिम प्रदान गर्नुका साथै सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सहमतिमा बुधबार सम्झौता गरेको छ ।

राष्ट्रिय बाणिज्य बैंकले युवाको ज्ञान, सीप र क्षमतालाई नवप्रवद्र्धन प्रस्ताव आह्वान गरी अवधारणा सङ्कलन गर्ने, उत्कृष्ट अवधारणा पठाउने युवालाई उद्यमशीलता सम्बन्धी निशुल्क तालिम प्रदान गरी राष्ट्रिय बाणिज्य बैंकमार्फत युवा उद्यमीका लागि सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सहमित भएको जनाएको छ । बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालको विशेष उपस्थितिमा मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विशाल फाउण्डेशनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस कार्यक्रम मार्फत प्रवाह गरिने कर्जा न्यूनतम एकदेखि अधिकतम तीन प्रतिशत व्याजदर कायम गरिएको र अधिकतम १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा प्रवाह गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताउनु भयो ।

समझदारी पत्र हस्ताक्षर समारोहमा बोल्नुहुँदै मन्त्री अरुण नेपालले ज्ञान, सीप र क्षमता भएका युवालाई देशमै उद्यमी बनाउन निशुल्क रुपमा तालिम प्रदान गर्ने बताउनु भयो । ज्ञान, सीप र प्रविधिसहित निक्कै सस्तो व्याजदरमा बिना धितो युवाहरुले कर्जा समेत प्राप्त गर्ने भएकाले चालु आर्थिक वर्षमा एकसय भन्दा बढि नयाँ उद्यम स्थापना हुने मन्त्री नेपालले विश्वास व्यक्त गर्नुभयो ।

नवप्रवद्र्धन प्रस्ताव आह्वान, तालिम सञ्चालन र सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रमको समन्वय गरिरहेको विशाल फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले नयाँ युवा उद्यमीका पूर्ण प्याकेजसहितको कार्यक्रम डिजाइन गरिएको जानकारी दिनुभयो । नयाँनयाँ अवधारणा भएर पनि कहाँ जाने, कसलाई भेट्ने, लगानी कसरी खोज्ने, तालिम कसरी लिने भनेर द्विविधामा भएका युवालाई निशुल्क रुपमा सरकार, निजी क्षेत्रसहितको साझेदारीमा यो कार्यक्रम अगाडि सारेको फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेको भनाइ रहेको छ ।

समझदारी अनुसार मङ्सीर पहिलो साताबाट उद्यमसम्बन्धी अवधारणा सङ्कलनको कार्य सुरु हुने छ । पुस र माघ महिनामा उद्यमसम्बन्धी अवधारणा पठाउने युवालाई तालिम प्रदान गरी फागुन र चैत्र महिनामा सहुलियतपूर्ण कर्जा प्रवाह गरिने राष्ट्रिय बाािणज्य बैंकले जनाएको छ । नेपालमा उद्यमी बन्न चाहने युवाका लागि यो कार्यक्रम निकै उपयोगी हुने सहकार्य गर्ने तीनवटै निकायका पदाधिकारीको दावी छ ।