हेटौंडाः सङ्घीय सरकारले कोरोना सङ्क्रमितको उपचार नगर्ने स्पष्ट पारेका बेला बागमती प्रदेश सरकारले भने आफ्नो मातहतका आठवटै अस्पतालहरुमा निशूल्क सेवा जारी राख्ने जनाएको छ । बागमती प्रदेश सरकार मातहतका ८ वटा अस्पतालमा सञ्चालित आइसोलेशन वार्डहरुमा कोरोना सङ्क्रमितहरुको निशुल्क उपचार भइरहेको र यसलाई जारी राखिने सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्लेले बताउनु भएको छ ।
बागमती प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुली, रामेछाप, धादिङ, रसुवा, भक्तपुर, सिन्धुपाल्चोक र नुवाकोटको जिल्ला अस्पताल र अस्पतालद्वारा सञ्चालित आईसोलेशन र अन्य स्थानीय तहसँगको सहकार्यमा सञ्चालित थप १५ वटा आईसोलेशन वार्डमा कोरोना सङ्क्रमितहरुको उपचार निशुल्क भइरहेको सचिव काफ्लेले बताउनु भयो । प्रदेश सरकारमातहत सञ्चालित प्रयोगशालामा कोरोना परीक्षण समेत निशुल्क भइरहेको सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्लेले बताउनु भयो ।