शिवरात्रीको दिन पारेर पशुपति गएका राजा रण बहादुर शाहले दर्शनार्थीको भीडमा एक पटक अत्यन्तै राम्री एउटी युवती देखेछन् । ती युवती आफ्ना बा–आमासँग पशुपति दर्शनका लागि जनकपुरबाट आएकी रहीछन् भन्ने कुरा सोधखोज गर्दा थाहा भएछ । युवतीको सुन्दरताबाट मोहित भएका राजाले उनलाई विवाह गरेर दरबार भित्र्याउने मनसुवा प्रकट गरेछन् । तर, कन्याका परिवारजनले राजाको त्यो प्रस्तावलाई ठाडै अस्वीकार गरेछन् । एक त त्यहाँ जातीय तगारो तेर्सिएछ ।
अर्काे कुरा मिथिला क्षेत्रका ब्राम्हण समुदायमा त्यस बेलासम्म विधवा विवाहको प्रचलन रहेन छ । कन्या ब्राम्हण परिवारकी भएकीले पाप धर्मको ख्याल गर्दै राजापछि त हटे तर उनको भित्री मनले मानेको थिएन । राजा भएर पनि आफुले खोजेको कु्रा पाउने सम्भावना नदेखेर अत्यन्तै खिन्न भएका रणबहादुर शाह तब मात्र प्रफुल्ल भए छन् जब त्यस बेलाका एकथरि विद्वानले अनौठो तर्क झिकेर असम्भव कुरालाई सम्भव गराइदिए । “राजा विष्णु भगवानका अवतार हुन र विष्णु भगवान सबैका स्वामी हुन्” भन्ने तर्क उनीहरुले अघि सारेपछि कट्टर ब्राह्मण परिवार आफ्नी छोरी कान्तिमती मिश्रको पुनर्विवाह ठकुरी राजासँग गराउन राजी भए । यसरी आफ्नो इच्छा र आसय बुझेर विद्वता पस्कन सक्ने विद्वत जमातलाई बिर्ता, मौजा, जागीर, मान, पदवी पुरस्कार जे–जे दिँदा हुन्छ दिएर सबै खाले सासक वर्ग पहिलेदेखि नै आफ्नो चाकडीमा वरिपरी घुमाई रहन्थे ।
ऐन मौकामा फुरेको बुद्धिले कहिले काहीँ कठीन भन्दा कठीन कामलाई पनि सहज बनाउन सक्छ । किम्बदन्ती नै किन नहोस् राजा पृथ्वीनारायण शाहलाई बिषे नगर्चीको बुद्धिमत्तापूर्ण एउटा सल्लाहले ठूलो चिन्ता र समस्याबाट पार लगाएको थियो भन्ने पाठ हामीले पढेकै हो । त्यस्तै मुगलकालिन हिन्दुस्तानी राजा अकबरका वीरबल र प्रचिनकालका राजा भोजका कालिदाश, बैद्धिक बिलाशका लागि मात्र नभएर राज्य शासनका अवयव पनि थिए । त्यसैकारण हुनुपर्छ राजा महेन्द्रले विदेशी भूमिमा छरिएर रहेका विद्वान नेपालीलाई धेरै ठूलो सङ्ख्यामा स्वदेश भित्र्याएर राम्रो सम्मान दिएका थिए ।
उनको छवी लोकतन्त्र विरोधी राजाको रुपमा देखिने गरेको भए तापनि उनको बलियो इच्छाशक्ति र कुटनैतिक चातुर्यताले नेपालमा अरुको दुष्ट आँखा लाग्न दिएका थिएनन् । त्यसैले राष्ट्रप्रतिको उनको प्रेमलाई तारिफ गर्ने नेपाली अहिले पनि धेरै भेटिन्छन् । तात्कालिन राजा ज्ञानेन्द्रले आफ्नो अलोकप्रिय फौजी कदमलाई उचित सावित गर्न स्वच्छ छवीको भन्दै डा. उपेन्द्र देवकोटा जस्ता विज्ञलाई मन्त्री बनाएका थिए । त्यसैबेला बुद्धिजिवी जस्ता देखिने धेरैले झण्डा हल्लाउन पाएका थिए । डा. के.आई. सिहले आफ्नो मन्त्री मण्डलमा महाकविलाई नै भित्राएका थिए । सिंहको राजनीतिक पृष्ठभूमी बुझ्नेहरु भन्छन् उनले उचित व्यक्तिलाई उचित ठाउँ दिएर शिक्षामा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य सहितको असल मनसायबाट नै महाकविलाई शिक्षामन्त्री बनाएका थिए ।
राणा शासकहरु बौद्धिककर्मीसँग झस्किन्थे । यो कालमा सबैखाले बौद्धिक गतिविधि प्रतिबन्धित थियो । आफू बाहेक अरु कसैको बौद्धिकतालाई पनि राणाहरु खतराको रुपमा देख्ने गर्थे । त्रिचन्द्र कलेजको उद्घाटन हो या शिलान्यास गरेपछि चन्द्र शमशेरले आफ्ना भाई भारदारसँग आज आफ्नै खुट्टामा बञ्चरो हनियो भनेका थिए रे । बौद्धिक गतिविधीमा सक्रिय भएकै कारण जेलमा थुनिएका महाकवि देवकोटालाई जनताको हित हुने वा चेतना बढ्ने अब आइन्दा कुनै काम गर्ने छैन भन्ने कागज गरेपछि मात्र राणाहरुले थुनामुक्त गरेका थिए । त्यति मात्र कहाँ हो र ? हिन्दुस्थान छाड्नु अघि अंग्रेजहरुले आफ्ना हितैषी सम्झेर राणा शासकहरुलाई दार्जिलिङ फिर्तादिने प्रस्ताव गरेका रहेछन् । तर त्यहाँ हुने गरेको बौद्धिक गतिविधिको डरले थुर्थुर भएका राणाहरुले चाहिँदैन ति गुण्डा भन्ने जवाफ दिएको कुरा पाका मानिसहरु अहिलेसम्म भन्दैछन् । सेना, प्रहरी र गुप्तचरको अत्यधिक प्रयोग नै राणाहरुको मनपरीतन्त्रलाई उचित ठहर्याउने प्रमुख तरिका थियो ।
आजका सचेत जनता कसैबाट पनि बलपूर्वक शासित हुन चाहँदैनन् । त्यसैले आधुनिक शासकहरु भय र भ्रमको वैकल्पिक उपायको सहारा लिन्छन् । भयको खेती सपार्न भुसतिघ्रे भिजिलान्ते नभई हुन्न भने भ्रमको भेल चलाएर सत्यको पर्खाल भत्काउन विवेकहिन बौद्धिक जमात चाहिन्छ । त्यसैले आधुनिक शासकहरु राज्यकोषको चरम दुरुपयोग गर्दै कसैलाई चास्नी चटाई रहेका हुन्छन् भने कसैलाई कनिका छरिरहेका हुन्छन् । आफ्नो चाटुकारितालाई निरपेक्ष बौद्धिक कर्मको आवरण दिएर एउटा जमात थोरै कनिकामा शासकहरुको चालिसा कथिरहेको हुन्छ
कसैले तानेर माथि पुर्याई हाल्यो भने आफ्नै भुँडीले स्वादिष्ट भोजन पचाउन र आङले दामी लुगा फटाउन पाउने आसमा टुप्पी ठड्याएर बसेको जमात इतिहासको सबै कालखण्डमा थिए । अहिले पनि छन् र भविष्यमा पनि नरहलान् भन्न सकिन्न । आलोचनात्मक चेतसहित स्वभीमानपूर्वक जीवनयापन गर्ने आँट नभएका तर पुस्तकको ठेली चाटेर ज्ञान र सूचनामा राम्रो पहुँच बनाएका मूल्यमान्यताहिन मानिसहरु शासकका हातमा नाँच्ने राम्रा कठपुतली हुन सक्छन् त्यसैले शासकहरुको मनपरिलाई झुठा तथ्य र तर्क दिएर लोकतन्त्र, समाजवाद, राष्ट्रवाद, जनवाद जस्ता कर्णप्रिय विशेषण दिँदै जनता अल्मल्याउन विकाउ बुद्धिजिवीले ठस्लो भूमिका खेल्छन् ।लोकतान्त्रिक नेपालमा विद्वानहरुको सेयर भाउ तल–माथि भइरहन्छ । किनकी लोकतन्त्र अहिले मूल्यमान्यता कम र गणितीय खेल बढि भएको छ । त्यसैले यसका खेलाडीहरुले कुर्सी दौडका लागि सत्य कुरा कम र विकाउ कुरा ज्यादा गर्नुपर्ने हुन्छ ।
राजनीतिको फोहोरी खेलमा परिणत भएकोले यसका खेलाडीहरु मच्छडले झुलभित्र पस्न बल गरे जस्तै जसरी पनि सत्ताको सुख महल भित्र छिर्न बल गर्ने नै भए । अर्बौं खर्बौंको हिसाब तेर्साएर जनतालाई समृद्धिको सपना देखाउँदै देशको उद्योगधन्दा, कलकारखाना, नदीनाला, प्राकृतिक स्रोत सम्पदा मात्र होइन भुभाग र सम्प्रभुता समेत विदेशी महाप्रभुलाई सुम्पिनु ‘जसरी पनि’ का ज्वलन्त उदाहरण हुन् । कैयौं किलो हजारका नोटले भरिएका ब्रिफकेस र सुरासुन्दरीसहितको होटल बास त मामुली नै भए । राष्ट्रघाती महाकाली सन्धी संसदबाट पारित गर्न कन्दनी कसेर लागी परेका प्रमुख दलका शीर्ष नेतालाई हेटौंडामा आयोजित एउटा विरोध सभामा बाम नेता चित्रबहादुर केसीले आमा पोइला लगाएर जारीखत उठाएर खाने निकृष्ट छोराहरुसँग तुलना गरेका थिए । हमेसा जसरी पनि मन्त्री हुने मन्त्रणमा साधनरत यस्तै नेताका असत्य तर विकाउ कुरालाई पैसाका लागि सत्य सावित गर्न आफ्नो विद्वता बेच्ने बेसरम बौद्धिक जमातको सेयर मूल्य ह्वात्त माथि उठ्छ । अरुबेला गन्तीमा नआएकाहरु पनि आफ्नो अकल्पनीय बजार भाउ देखेर छक्क पर्छन् ।
महाकाली सन्धीभन्दा ठूलो राष्ट्रघातको किर्तीमानसहित अहिले अमेरिकाबाट चोरबाटो हुँदै भित्रिएको एमसीसीलाई वैधानिकता दिन नेपाली राजनीतिका केहि भ्रष्ट पटके खेलाडीहरु कस्सिएर लागी परेका छन् । यसले वैधानिकता पाएपछि नेपालको सम्प्रभुता र सार्वभौमिकता विदेशी महाप्रभुको हातमा पर्नेछ भन्ने कुरा यसका प्रावधानले छर्लङ्ग पारेका छन् । हाम्रो असल छिमेकी मित्र राष्ट्रको शान्तिपूर्ण प्रगतिलाई रोक्ने अभिष्ट लिएर आएको यो सन्धी पारित भएमा नेपाल युद्धको भुमरीमा फस्ने निश्चित छ । तैपनि वर्तमान शासकीय पक्ष र प्रतिपक्षका केहि लाउकेहरु यसलाई संसदबाट पारित गराउन अर्बौं र खर्बौंको हिसाबसहित समृद्धिको झुठो कथा दोहोर्याई रहेका छन् ।
देशलाई युद्धको एउटा पक्षमा परिणत गरेर ल्याईने समृद्धिको सम्भावना त के कल्पना समेत बाहिरको कुरा हो । यो देश कसैले बक्सिस वा जिताउरे भन्दै हाम्रो हातमा राखी दिएको होइन । हाम्रो पुर्खाको रगत पसिनाले आर्जेको भूमी हो यसलाई कसैले आफ्नो छुद्र स्वार्थका लागि जुवाकोे खालमा राखेर हाम्रो शान्ति समृद्धि हरण गर्न खोज्छ भने हामी हातमा जे छ त्यही लिएर उठ्नु पर्छ । यस्तो बेलाको मौनता या कुतर्कले सर्वनाशलाई निम्ता दिन्छ । झण्डावाल गाडी भित्र नेटका बिटा गन्न पाएपछि देश र जनताको रतिभर वास्ता नगर्ने राजनीतिका फोहोरी खेलाडीहरुले राष्ट्रघाति सन्धीमार्फत हामीलाई सर्वनाशतिर धकेल्दै छन् । कुतर्क वा मौनताको खेती गर्दै सर्वनाशलाई निम्ता दिने कि सङ्घर्षका सबै रुपको प्रयोग गर्दै हामी समृद्धिको यात्रामा अगाडि बढ्ने ? गम्भीर भएर सोचौं कि ?